सरकार ठिक ढंगले नचले गठबन्धन फेरिन्छ, नयाँ सरकार बन्छ : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले चित्त बुझ्ने गरी काम नगरे गठबन्धन फेरिने बताएका छन्। शनिबार काठमाडौं-४ मा आयोजित क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले सरकार ठिक ढंगले चलेन र चित्त बुझेन भने अहिलेको गठबन्धन फेर्न सकिने बताएका हुन्।
उनले कांग्रेसले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए। थापाले भने,‘हामी अहिले एक गठबन्धनमा छौं, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन। बन्छ, भत्किन्छ भइराख्छ। तर चुनावअघि हामी सरकार छोड्नुपर्छ भनेर चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ।’
उनले कम्युनिष्टहरू एकै ठाउँमा भएपनि कांग्रेसलाई कुनै फरक नपर्ने धारणा राखे। उनले कांग्रेस प्रगतिशील शक्ति भएकाले समाजवादी मोर्चामा एमाले थपिएपनि पार्टीलाई केहि नहुने धारणा राखे।
उनले माधव नेपालले कांग्रेसलाई दलाल पुँजीपति भनेको स्मरण गराए। उनले ६ वटा प्रदेशमा र स्थानीय तहमा पनि कांग्रेसको समर्थनमा सरकार बनेकाले ८४ को चुनावमा के हुन्छ भनेर आत्तिनुनपर्ने धारणा राखे।