रानी, जमरा, कुलरिया आयोजनाको लापरवाहीले डुबानको खतरामा टीकापुर
टीकापुर : गत वर्ष कर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका-९ कटासे नजिक तीव्र कटान गर्यो। कटानले निर्माण गरेको पुरानोकट तटबन्ध भत्किएर बाढी क्षणभरमै रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको मुल नहरमा पस्यो।
परम्परागत रुपबाट नहरमा आइरहेको पानीमा अनियन्त्रित रुपमा बाढी पसेपछि टीकापुर क्षेत्र डुबानमा पर्यो। टीकापुर बजार जलमग्न भयो। आयोजनाको नहर क्यानल भत्कियो। केही र्याम्पहरू भत्किए।
अनियन्त्रित बाढीले करोडौंको क्षति व्यहोरेको राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले गत वर्ष कटान भएको कटासे नजिकै हालसम्म तटबन्ध निर्माण गर्न नसकेपछि यतिबेला टीकापुर क्षेत्र डुबानको उच्च जोखिममा परेको छ।
कर्णाली चिसापानीस्थित मुल इन्टेकबाट असार १ गतेदेखि किसानका खेतसम्म सिँचाइ पुर्याएको आयोजनाले गत वर्ष भत्किएको तटबन्ध निर्माण गर्न नसक्दा यस वर्ष समेत टीकापुर क्षेत्र डुबानको खतरामा परेको हो।
‘परम्परागत मुहानबाट पानी आइरहेका बेला गत वर्ष तटबन्ध भत्किएर करोडौंको क्षति भएको थियो’ जानकी –६ का रमेश चौधरीले भने ‘एक वर्षसम्म भत्किएको तटबन्ध निर्माण नहुँदा यस वर्ष समेत कटासे, जगतपुरसहित टीकापुर क्षेत्र डुबानमा पर्ने निश्चित छ।’
गत वर्षको बाढीले कटासे क्षेत्रमा झण्डै १ हजार ५ शय मिटर तटबन्धमा क्षति पुर्याएको थियो। गत वर्ष नै भत्किएको तटबन्ध निर्माणमा आयोजनाले समयमा ध्यान नदिँदा टीकापुर क्षेत्र यस वर्ष समेत बाढीको जोखिममा परेको हो।
टीकापुर–१ का खेम बोगटीले एक वर्षसम्म तटबन्धमा चासो नदिने आयोजनाले असारमा तटबन्ध बनाउन खोज्नु आँखामा छारो हाल्नु जस्तै भएको बताए। ‘एक वर्षसम्म आयोजनाले केही गरेन, ठेक्का आव्हन गर्नमै सीमित भयो’ बोगटीले भने ‘यस वर्ष कर्णालीमा बाढी आए टीकापुर क्षेत्रमा भयावह हुने स्थिति छ। यसमा आयोजना मुख्य जिम्मेवार हुनेछ।’
नदीजन्य पदार्थको उत्खनन असार महिला लागेसँगै बन्द हुन्छ। तर आयोजनाले गत वर्ष भत्किएको तटबन्ध निर्माणका लागि निर्माण कम्पनीलाई असारमा समेत कर्णाली नदीबाट ग्राभेल र ढुंगा निकासी गर्न दिएको छ। असारमा नदीजन्य पदार्थको उत्खनन हुनु गैरकानुनी भएको स्थानीयहरू बताउँछन्।
आयोजनाले गत वर्ष बाढीबाट भत्किएको तटबन्ध निर्माणका लागि गत मंसिर महिनामा ठेक्का आव्हान गरेको थियो। कटासे, सनकट्टी लगायतका क्षेत्रमा भत्किएको तटबन्ध निर्माणका लागि चैत्र अन्तिम साता जाल्वा निर्माण सेवासँग २२ करोड रुपैयाँमा सम्झौता गरेको थियो।
अझै १८ महिनासम्म निर्माण अवधि रहेको सेवाका प्रतिनिधि नेत्र थापामगरले तत्काल रोकथामका लागि नदीको ग्राभेल र ढुंगा प्रयोग गरी तटबन्ध निर्माण गर्न आयोजनाले स्वीकृति दिएको बताए।
‘गत वर्ष कटासे, टीकापुर क्षेत्रमा कटासेबाटै बाढी पसेका कारण क्षति भएको हुनाले बस्ती बचाउन असारमै भए पनि ढुंगा र ग्राभेल प्रयोग गरेका हौं’ थापामगरले भने ‘हामीसँग अझै १८ महिना निर्माण अवधि छ, अहिले हाम्रो आवश्यकता होइन, बस्ती बचाउन आयोजनाले नै आग्रह गरेपछि काम गरिरहेका थियौं।’
थापामगरले असारमा नदीमा उत्खनन गर्न नपाउने नियम भए पनि व्यवहारिक रुपमा बस्ती बचाउनका लागि आफूहरूले रातदिन काम गरेको दावी गरे।
यता, आयोजनाका ओभरसियर शिव रावतले नदी नियन्त्रणका लागि तटबन्ध निर्माणमा ढिलाई भएको स्वीकारे। ‘ठुलो ठेक्का हो, मंसिर नलाग्दासम्म नदीमा गएर इस्टिमेट गर्न सकिँदैन’ ओभरसियर रावतले भने ‘ठेक्का आव्हान, मूल्यांकन र सम्झौता गर्दा चैत्र अन्तिम साता मात्रै सम्झौता भएको हो। यस वर्ष बाढी गाउँ नपसोस् भन्नका लागि बिग बोल्डर हाल्ने गरी निर्माण गर्न भनिएको हो।’
गत वर्षकै बाढीबाट क्षति भएको टीकापुर नगरपालिका-२ को सनकट्टी क्षेत्रमा समेत आयोजनाले तटबन्ध निर्माण गर्न सकेको छैन।
बाढी आएकै समयमा नियन्त्रणका लागि बिग बोल्डर खसाल्ने गौरवको आयोजनाले समयमा तटबन्ध निर्माण ध्यान नदिँदा टीकापुर क्षेत्र जोखिममा परेको स्थानीयहरू बताउँछन्।