यस्तो होस् गर्मीमा आहार विहार
गर्मीयाममा राति अबेरसम्म बस्नु ठीक हुँदैन। गर्मीयाममा बिहान सूर्योदय अगाडि नै उठ्ने बानी बसाल्नुपर्छ। बिहानको शीतल मिर्मिरेमा उठ्नाको मजा नै बेग्लै हुन्छ।
गर्मी निकै बढेको छ। प्रचण्ड गर्मीका कारण तराईको जनजीवन निकै प्रभावित भएको छ। तराईमा त अहिले दिउँसो बाहिर निस्किन पनि निकै कठिन छ। तराईमा मात्र होइन, काठमाडौंमा पनि गर्मी निकै बढेको छ। गर्मीसँगै अस्पतालहरूमा रोगीको चाप पनि निकै बढेको छ। जाडोयामको तुलनामा गर्मी र वर्षायाममा अस्पताल पुग्ने रोगीहरूको संख्या लगभग दोब्बर नै हुने गर्छ।
चर्को घर्मीका कारण शरीर सुक्खा हुने, टाउको दुःख्ने, वाकवाकी लाग्ने, खान रुचि नहुने, कमजोर महसुस हुने, थकाइ लाग्ने, अचानक रिंगटा लाग्ने, बेहोस हुने हुनसक्छ। यस्तै, हातखुट्टा बाउँडिने, जलवियोजन (डिहाइडे«सन), आँखा पोल्ने, आँखा पाक्ने, झाडापखला, टाइफाइड तथा जन्डिसजस्ता रोगहरू देखा पर्न सक्छन्। त्यसैले गर्मी र गर्मीका कारण पैदा हुने यस्ता रोगहरूबाट बच्न सरसफाइ तथा आफ्नो खानपान तथा दिनचर्यामा ध्यानदिनु जरुरी छ।
गर्मीयाममा बिहान सूर्योदय अगाडि नै उठ्ने बानी बसाल्नुपर्छ। बिहानको शीतल मिर्मिरेमा उठ्नाको मजा नै बेग्लै हुन्छ। उठेपछि एक/दुई गिलास पानी पिएर शौचालय जाने र दिसापिसाब गरेपछि स्नान गर्नु राम्रो हुन्छ। पानी पिउनाले र नुहाउनाले शरीरमा बढेको तापक्रम कम हुनुको साथै शरीर शुद्धि हुन्छ। नुहाएपछि वायुसेवनका लागि ४–५ किलोमिटर हिँड्नु राम्रो हुन्छ। गर्मीयाममा राति अबेरसम्म बस्नु ठीक हुँदैन। छिट्टै सुत्ने र बिहान छिट्टै उठ्ने बानी बसाल्नुपर्छ। राति अबेरसम्म बस्नै पर्यो भने पटक–पटक एक/एक गिलास पानी पिउने गर्नुपर्छ।
सुत्नुपूर्व पुनः दिसापिसाब गरी नुहाएर वा हातखुट्टा धोइपखाली गरेर तथा एक गिलास पानी पिएर निश्चित्त भई सुत्ने गर्नुपर्छ। यस मौसममा अमिलोपिरो, मसालेदार भोजन, दुर्गन्धयुक्त बिग्रेको पदार्थ, पुनः ताजा बनाएको खाना, बासी भोजन, ज्यादै चिसो वा तातो प्रकृतिका पदार्थ तथा बढी माछामासुको सेवन गर्नुहँुदैन। गुलियो मौसमी, गुलियो आँप, सुन्तला, पाकेको केरा, अंगुर, तरभुजा, खरभुजा, काँक्रो आदिजस्ता फलफूल तथा लौका, फर्सी, गिरौंला, हरियो मटर, बेथे, चौलाइ, परबल, करेला, काँचो केरा तथा पाकेको टमाटर आदि जस्ता तरकारीहरू सेवन गर्नुपर्छ।
गर्मीयाममा शरीरमा पानीको मात्रा कम रहने हुनाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ। पानीको साथसाथै जौ वा चनाको सातुको सर्वत, बेल, खस तथा चन्दनको सर्वत, आँपको पना, चिसो मीठो लस्सी आदि पिउनुपर्छ। लस्सी त गर्मीयामका लागि अमृत नै हो। लस्सी बनाउननिकै सजिलो छ। लस्सी सजिलै घरमा बनाएर सेवन गर्न सकिन्छ। लस्सीका लागि आवश्यक सामग्री हुन्ः दही, पानी तथा मिश्री वा चिनी÷चिनीको तुलनामा धागोवाला मिश्री श्रेष्ठ हुन्छ।
चार गिलास लस्सी बनाउन दुई गिलास दही, दुई गिलास चिसो पानी र ४ चम्चाचिनी वा मिश्री मिलाएर ब्लेंडरमा हाल्ने र राम्रोसँग घोल्ने अनि ४–५ थोपा गुलाबजल मिलाउनु पर्छ। अब लस्सी तयार भयो। जौको सातु शीतल, पौष्टिक तथा कब्जनाशक हुन्छ। त्यसैले गर्मीयाममा जौको सातुलाई पानीमा घोलेर पिउनु राम्रो हुन्छ। खानामा भात, जौ वा गहुँको रोटी, मुंगवा मसुरोको पातलो दाल, हरियो सागपातको तरकारी, बिहानको खानामा दही वा मही, प्याज, पुदिना र धनियाँको चट्नी, काँक्रो आदिको सलादखाने गर्नुपर्छ।
गर्मी मौसममा प्रशस्त मात्रामा आँप पाइन्छ। त्यसैले नास्ताको रूपमा पाकेको गुलियो आँप वा आँपको रस तथा काँचो आँपबाट बनाइएको आँपको पना सेवन गर्नु गर्मीयाममा निकै लाभदायक हुन्छ। यसका साथै गर्मीयाममा अत्याधिक व्यायाम, परिश्रम तथा मैथुन (सहवास) पनि गर्नुहँुदैन। धेरै बेरसम्म बाहिर घाममा हिँड्ने वा काम गर्ने गर्नु हँुदैन। बाहिर हिँड्दा सुतीको सेतो कपडा लगाउनु उत्तम हुन्छ। बाहिर निस्कनु पूर्व एक गिलास पानी पिउनुपर्छ।
घामबाट जोगिन छाता ओढ्ने वा टाउको र कान रुमालले छोप्ने गर्नुपर्छ। बाहिरबाट घरमा आउनेबित्तिकै पानी पिउनु हुँदैन। केहीबेर बसेर पसिना सुकेपछि हातखुट्टा तथा मुख धोइपखालेपछि मात्र पानी पिउनुपर्छ। पानी बोत्तलबाट घटघट होइन कि गिलासबाट चुस्की लिएर पिउनुपर्छ। सधैं सफा पानी पिउने गर्नुपर्छ। गर्मीयाममा साँझ पनि नुहानु राम्रो हुन्छ।
सकेसम्म दिउँसो चर्को घाममा बाहिर निस्कनु हुँदैन। बाहिर निस्किँदा एक गिलास पानी पिउने र छाता ओढ्ने र अनुहारलाई घामबाट जोगाउनु पर्छ। रुमाल वा गम्छाले ढाक्नु पर्छ। कपडा खोलेर तथा खालीखुट्टा बाहिर निस्कनु उचित होइन। पातलो, खुकुलो र हावा छिर्ने खालको सुतीको कपडा लगाउनु पर्छ। सकेसम्म कोच्चिएर गाडीमा हिँड्नु हुँदैन।
बजार तथा फुटपाथका रेडिमेड अस्वस्थकर खानेकुरा खानु हुन्न। धेरै तातो, पिरो तथा मलासेद्धार खानेकुरा पनि खानु हुँदैन। घरमै तयार गरेको ताजा तथा सफा खाना खानु पर्छ। कोक, पेप्सी आदि पेय पदार्थ खानुभन्दा मौसमी फलफूलको जुस खानु उपयुक्त हुन्छ। लस्सी, सातुपानी तथा नरिवल पानी पिउने गर्नुपर्छ। कागती पानीको सर्बत बनाएर पिउनु उत्तम हो। लौका, काँक्रा, कागती, तरभुजा, खरभुजा आदिकोे सकेसम्म नियमित सेवन गर्ने बानी बसाल्नु पर्छ।
प्रत्येक दिन ३/४ लिटर पानी पिउने बानी बसाल्नु पर्छ। घाममा काम गर्नु पर्दा पसिना आइरहेको छ भने पटक–पटक पानी पिउनु राम्रो हुन्छ। लगातार काम नगर्ने, बेला–बेलामा आराम गर्ने, सम्भव भएसम्म दिउँसो काममा ननस्किने, बाहिर घामबाट आएपछि तुरुन्त एसीमा नबस्ने आदिमा ध्यान दिनुपर्छ। गर्मीयाममा कोकाकोला, पेप्सी, डियूजस्ता पेय पदार्थहरू अध्याधिक मात्रामा पिउने गरिन्छ। गर्मीले आत्तिएको बेलामा यस्ता चिसो र गलियो पेय पदार्थलाई मानिसहरूले अमृत ठान्छन्। तर, यस्ता पेय पदार्थहरूले शरीरलाई कति हानी गर्छ भन्ने धेरैलाई मतलब छैन।
यी सानातिना कुराहरूमा ध्यान दिने हो भने प्रचण्ड गर्मीबाट राहतमात्र मिल्दैन कि थुप्रै किसिमका रोगबाट बच्न सकिन्छ। गर्मीयाममा पनि स्वास्थ्यलाई सुदृढ राख्न सकिन्छ।