बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट सार्वजनिक
बेनी : म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि करिब ७१ करोडको बजेट सार्वजनिक गरेको छ।
आइतबार बेनीमा भएको १३ औ नगरसभामा उपप्रमुख ज्योति लामिछानेले ७० करोड ८९ लाख रुपैयाँको बजेट प्रस्तुत गरिन्। चालुतर्फ ५० करोड २७ लाख ७५ हजार रुपैयाँ र पुँजीगत शीर्षकमा २० करोड ६१ लाख रुपैयाँ विनियोजन भएको छ।
विपदमा मेयर, आयआर्जन सुधार र सिप विकासका लागि उपमेयरसँग आमा समूहजस्ता नमुना कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख सुरत केसीले बताए।
नगरपालिकाको रणनीतिक महत्वको बेनी–पात्लेखेत सडक कालोपत्रे गर्ने संघीय सरकारसँग साझेदारी गर्नुपर्ने सहित दुई करोड रुपैयाँ र प्रदेश सरकारको साझेदारीमा अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक र महारानीथान छापा डाडाखेत सडक स्तरोन्नति गर्न एक करोड ५३ लाख रुपैयाँ विनियोजन भएको उपप्रमुख लामिछानेले बताइन्।