गाउँपालिका केन्द्र सार्ने निर्णय भएपछि स्थानीयले गरे जनप्रतिनिधिमाथि आक्रमण

गाउँपालिका केन्द्र सार्ने निर्णय भएपछि स्थानीयले गरे जनप्रतिनिधिमाथि आक्रमण
खिमडीमा रहेको मोहन्याल गाउँपालिका केन्द्र ।
सुन्नुहोस्

टीकापुर : २०७४ मा स्थानीय तहको निर्वाचन भएदेखि ६ वर्षसम्म गाउँपालिका केन्द्र तोक्न नसकेको कैलालीको पहाडी मोहन्याल गाउँपालिकाको गाउँ सभामै स्थानीय आक्रमण गरेका छन् । 

आइतबार राति १० बजे सकिएको गाउँपालिकाको १२ औं नगर सभाले हाल वडा नं. ४ खिमडीमा रहेको पालिका केन्द्र वडा नं. १ भकुण्डेटारमा सार्ने बहुमतबाट निर्णय गरेपछि स्थानीयले गाउँ सभामै आक्रमण गरेका हुन् । 

आक्रमणबाट गाउँपालिका उपाध्यक्ष कमल साउँद, वडा नं. ५ का अध्यक्ष प्रवीण घर्ती, वडा नं. ७ का अध्यक्ष नवराज कठायतलगायत गाउँ सभा सदस्यहरु घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार घाइतेहरुको खुट्टा र टाउकोमा चोट लागेको छ । गाउँसभामा पुगेका वडा नं. ७ का स्थानीय जगत कठायतले १० बजे राति गाउँसभा सकिएपछि प्रहरी चौकी खिमडीमै स्थानीयले ढुंगामुडा प्रहार गरेका थिए । 

‘प्रहरी चौकी खिमडीमै गाउँ सभा सञ्चालन भएको थियो, पालिका केन्द्र भकुण्डेटारमा सार्ने बहुमतले निर्णय गरेपछि आक्रोशित स्थानीयले छानीछानी आक्रमण गरे’ कठायतले भने ‘आक्रमणमा घाइते हुने सबैजना नेपाली काँग्रेसबाट निर्वाचित हुन्, खिमडीबाट केन्द्र सार्न उपाध्यक्ष साउँदले पहल गर्दै आएका थिए, त्यसैले यो नियोजित आक्रमण हो ।’

कठायतका अनुसार राति पटक पटक गरी आक्रमण हुन थालेपछि पालिकाका कर्मचारी र जनप्रतिनिधिको भागभाग भएको थियो । ‘भागभाग भएका कर्मचारी र जनप्रतिनिधिलाई जम्मा गर्दा आज बिहान १ बजेपछि हामी जंगलको बाटो भएर फर्किरहेका छौं’ कठायतले भने ‘घाइतेहरुको अवस्थाबारे अझै एकिन भएको छैन ।’  

गाउँपालिका उपाध्यक्ष कलम साउँदले अन्नपूर्ण पोष्टसँग संक्षिप्त कुरा गर्दै पालिका केन्द्र सार्ने निर्णय भएपछि योजनाबद्ध रुपमा आक्रमण भएको बताए । ‘मलगायत जनप्रतिनिधिहरु घाइते भएका छौं, टाउको र खुट्टामा चोट लागेको छ’ उपाध्यक्ष साउँदले भने ‘गाउँ सभामा बहुमत सदस्यबाट पालिका केन्द्र सार्ने निर्णय पारित भएपछि हामीमाथि आक्रमण भएको हो । सभाको निर्णय भएलगत्तै सभा सञ्चालन भइरहेकै ठाउँमा हाम्रा साथीहरुमाथि छानी छानी आक्रमण भएको छ ।’ 

यसअघि समेत गाउँपालिका केन्द्र सार्ने विषयमा गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय र उपाध्यक्ष साउँदबिच विवाद हुँदै आएको थियो । साविकका मोहन्याल, पण्ड़ौन र सुगरखाल गरी तीन गाविसहरु मिलेर बनाइएको मोहन्याल गाउँपालिकाको कुल क्षेत्रफल ६२६.९५ वर्ग किलोमिटर छ ।
गाउँपालिकाको पूर्वमा सुर्खेत जिल्ला, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र सुर्खेत जिल्ला तथा दक्षिणमा गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिका छन् । अधिकांश ठाउँमा यातायातको पहुँच छैन । 

२०७४ को निर्वाचन अघि पालिका केन्द्र तोकिएको खिमडी डोटी जिल्लाको ठुलीगाडसँग जोडिएको छ । वर्षायाममा केन्द्रसम्म जाने बाटो अवरुद्ध हुन्छ । हालको पालिका केन्द्रसम्म हिँडेर जाँदा ३/४ दिन लाग्छ । पालिका केन्द्र पायक पर्ने ठाउँमा नभएपछि २०७४ देखि नै केन्द्र सार्ने प्रयास नभएको होइन । पटक–पटक गरिएका प्रयासबाट सहमति नजुटेपछि पहिलो कार्यकालमा खिमडी, सुख्खड, फलेबिसौना र धनगढीबाट कार्यालय सञ्चालन गरिएको थियो । 

यसअघि पालिकाले केन्द्र पायक नभएपछि गाउँपालिकाका उपाध्यक्ष कमल साउँदको नेतृत्वमा केन्द्र तोक्न सिफारिस समिति गठन गरिएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.