नागरिकता पाएपछि अबिर जात्रा
परासी : जिल्ला प्रशासन कार्यालयबाट सोमबार नागरिकता लिएर बाहिरिँदै गरेका युवाहरूमा खुसीको सीमा थिएन। युवाहरूले नागरिकता पाएपछि एक आपसमा अबिर दलेर खुसी साटासाट गरेका थिए। सँगै आएका अभिभावकहरूका आँखा पनि खुसीले रसाएका थिए।
नागरिकता पाएपछि उनीहरू राष्ट्रियताले ओतपोत गीत गाउँदै सरकारलाई धन्यवाद दिएका थिए। जिल्ला प्रशासनमा आएका अन्य सेवाग्राहीहरूले पनि उनीहरूको अबिर जात्रालाई रुचि पूर्वक हेर्दै बधाई दिएका थिए।
नागरिकता पाएपछि अर्का साथीलाई अबिर दल्दै गरेका रामग्राम नगरपालिका–२ का निरज बनिया (२०) ले नागरिकता देखाउँदै भने, ‘मलाई खुसीको सीमा नसोध्नुस्। यो नागरिकता १५ दिनसम्म छातीमा टाँसेर सुत्छु।’
नागरिकता नपाउँदा मोबाइलको सीम कार्डसमेत निकाल्न नपाएको उनको गुनासो थियो। ढिलै भएपनि नागरिकता लिने बाटो खुलाई दिएकोमा उनले सरकारलाई धन्यवाद दिए।
निरज मात्र होइन उनीजस्तै वर्षौदेखि नागरिकता पाउनबाट बञ्चित जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्तानले अब सहज रुपमा नागरिकता पाउने छन्। सर्वोच्च अदालतले बिहीबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि त्यस्ता सन्तानहरूका लागि नागरिकता पाउने बाटो खुलेको हो।
नागरिकता लिएर प्रशासनबाट बाहिरिँदै गरेकी बर्दघाट नगरपालिकाकी निता गुप्ताले नागरिकता नहुँदा पढाइमा समेत समस्या भएको बताइन्।‘ म अहिले ब्याचलर फाइनल दिएर बसेकी छु। नागरिकता कै कारण मैले सोँचेका सबै सपना अधुरै हुने पिरले सताई रहन्थ्यो। अब भविश्यको सपना पूरा हुने भो।’
उनले नागरिकता देखाउँदै भनिन्। नागरिकता नहुँदा अरू साथीहरूको अगाडी आफूलाई हिनताबोध हुने गरेको उनले सुनाईन्। नागरिकता नहुँदा आफ्नै देशमा पनि हजारौ युवाहरू शरणार्थी जस्तो भएर बस्नु पर्ने बाध्यता हटेकोले अब देशमै बसेर केही गर्ने सोँच बनाएको उनले सुनाइन्। नागरिकताका लागि सँगै आएकी उनकी आमा संगिता गुप्ताले छोरीसँग अन्य तीन सन्तानले नागरिकता पाउन लागेको भन्दै सुखी व्यक्त गरिन्। ‘छोरा छोरीभन्दा पनि अहिले मलाई ज्याँदै खुसी लागेको छ।’ नागरिकता नहुँदा उनीहरूको भविश्य सोचेर सधैं चिन्ता लागिरहन्थ्यो।’ उनले भनिन्।
जिल्ला प्रशासनमा अहिले जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्तानहरू नागरिकता बनाउन आउन थालेपछि भीडभाड बढेको छ।
जिल्लामा जन्मका आधारमा नागरिकता पाएका अभिभावकको संख्या ८ हजार १३० रहेको छ। उक्त संख्याका आधारमा अब २० हजार बढी सन्तानहरू नागरिकता बनाउन आउन सक्ने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए।
जिल्लामा ७ स्थानीय तह छन्। जसमध्ये प्रतापपुर, सुस्ता र बर्दघाट नगरपालिकाको १२ देखि १८ नम्बर वडाको इलाका प्रशासन कार्यालय सेमरीबाट नागरिकता वितरण हुँदै आएको छ भने बाँकी जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको छ।