काभ्रेको नमोबुद्ध पूर्ण खोप सुनिश्चित नगर घोषणा
काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ। सोमबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो।
आर्थिक वर्ष २०७९/८० को चैत्र मसान्तसम्ममा १६ देखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने अनिवार्य खोप लगाएको सुनिश्चित भएपछि खोप सुनिश्चित नगर घोषणा गरिएको हो।
सोमबार नगरपालिकामा स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा जनप्रतिनिधिहरूको उपस्थितिमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीले जानकारी दिए।
यसअघि विभिन्न मितिमा नगरपालिकाका ११ वटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भएपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको अधिकारीले बताए।
पालिकाको १४ स्वास्थ्यबाट १६ महिनादेखि २३ महिना उमेर समूहका ३ सय २३ जनाले खोप पाएको प्रमाणित भएपछि घोषणा गरिएको अधिकारीले बताए।
चैत्र महिनालाई खोप महिनाका रूपमा विभिन्न अभियान सञ्चालन गरिएको पालिका स्वास्थ्य शाखाले जनाएको छ। नगरभित्रको घरधुरी सर्वेक्षणसहित खोप पाउन कोही छुटे नछुटेको सर्वेक्षण भएर नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने सबै प्रक्रियाहरू सकिँदै सोमबार पूर्ण खोप सुनिश्चित घोषणा भएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए।