मुस्ताङमा पाँच पालिकाको बजेट डेढ अर्ब
जोमसोम : मुस्ताङका पाँच पालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित बजेट सार्वजनिक खाँका सार्वजनिक गरेको छ।
घरपझोङ गाउँपालिकाले शुक्रबार र अन्य चार पालिकाले आइतबार एकसाथ बजेट सार्वजनिक गरेका हुन्।
लोमान्थाङ गाउँपालिकाले २९ करोड २३ लाखको बजेट सार्वजनिक गरेको छ। जसमा चालुतर्फ १३ करोड २३ लाख र पुँजीगत तर्फ १६ करोड ६३ लाख छ। लोमान्थाङको बजेटमा संघीय अनुदान २२ करोड ३८ लाख र प्रदेश अनुदान १ करोड ७६ लाख छ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाले २४ करोड १९ लाख बराबरको बजेट सार्वजनिक गरेको छ। जसमा चालुतर्फ ११ करोड २६ लाख र पुँजीगत १२ करोड ९३ लाख छ।लोघेकरमा संघीय अनुदान २० करोड ४८ लाख र प्रदेश अनुदान ३८ लाख ९३ हजार छ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले २५ करोड ६२ लाखको बजेट प्रस्तुत गरेको छ। चालुतर्फ १६ करोड ५ लाख र पुँजीगत ९ करोड ५६ लाख छ। बारागुङ मुक्तिक्षेत्रलाई संघीय अनुदान २० करोड ४२ लाख र प्रदेश अनुदान १ करोड ६० लाख ५७ हजार रहेको छ।
घरपझोङ गाउँपालिकाले २९ करोड ९६ लाखको बजेट सार्वजनिक गरेको छ। चालुतर्फ १८ करोड ९६ लाख र पुँजीगत ११ करोड ५३ लाख छ। घरपझोङलाई संघीय अनुदान २७ करोड १० लाख र प्रदेश अनुदान १ करोड ९६ लाख छ।
यसैगरी थासाङ गाउँपालिकाको बजेट ३६ करोड ६८ लाख रहेको छ। थासाङ गाउँपालिकाको बजेट जिल्लाकै ठूलो बजेट हो। सो बजेटमा अघिल्लो आर्थिक वर्षको करिब ८ करोड बजेट समावेश छ।
थासाङले चालुतर्फको र पुँजीगत खर्च विवरण दिन भ्याएको छैन। थासाङलाई संघीय अनुदान २६ करोड २३ लाख र प्रदेश अनुदान १ करोड ८६ लाख विनियोजन भएको थियो।
थासाङले भवन निर्माणका लागि ३ करोड बजेट विनियोजन गरेको छ। बारागुङ र घरपझोङको बजेटमा पुँजीगत खर्च कम छ भने अन्य पालिकाको पुँजीगत खर्च बढी छ।