हाम्रो राष्ट्रिय गानले भन्छ–
एउटै माला नेपाली
मेची–महाकाली
आहा ! कति मोहक छ हाम्रो देश। तर, त्यो प्रभा छर्ने कुन–कुन फूल कहाँ उमंगसाथ फक्रिएका छन्, राजनीतिक बाछिटाले हानेर कुन–कुन कहाँ कक्रिएका छन्, ठोस लेखाजोखा छैन। तीमध्ये अल्पसंख्यामा रहेर अधिकांशतः आवाजविहीन बनेका सय जाति र तिनका पहिचानका सबाल आजको विशेष संस्करणका सामग्री हुन्।
राष्ट्र चम्काउने ती सुन्दर फूलका थुंगालाई अखबारका समग्र पानामा उनेका छौं हामीले। यो हो– अल्पसंख्यक र सीमान्तकृत सय जातिको इतिवृत्तान्त। राष्ट्रिय जनगणना, २०७८ को जातिसम्बन्धी भर्खरै प्रकाशित तथ्यांकलाई यसको मूल आधार मानेका छौं। ती जातिका नाम र जनसंख्या जनगणनाकै स्रेस्ताका हुन्। यसमा हरेक जातिबाट एक प्रतिनिधि पात्र लिइएको छ। उनले जानेको–बुझेको तत्जातिको बेलिविस्तार अभिव्यक्त गराइएको छ।
जाति, भाषा र संस्कृति समृद्धिका द्योतक मात्र होइनन्, आपसमा परिपूरक हुन्छन्। नेपालको संविधानले जाति, धर्म र संस्कृतिबीच सुसम्बन्धको मर्म बोकेको छ। समावेशिता र भेदभावहीनतामा जोड दिएको छ। तर, व्यवहारतः त्यो अवस्था आइसकेको छैन। हामीले यस अंकमा कुना–काप्चामा पारिएका त्यस्ता जातिको वास्तविकता देशवासीसामु पस्कन चाहेका छौं, ता कि राजनीतिक र नीति–निर्माण तहमा यसको ज्वलन्त तस्बिर पुग्न सकोस्।
देश सुन्दर फूलबारी हो। हामी यसलाई अझ सुन्दर बनाउने अभियानमा छौं। र, जोडसाथ भन्छौं– हरेक फूलले समान गोडमेल/स्याहार पाउनुपर्छ। सबैलाई उही मालामा उन्न सक्नुपर्छ र देशको गलामा पहिर्याउनुपर्छ। र पो देश वास्तविक देश बन्छ !
अखण्ड भण्डारी
प्रधान सम्पादक
अन्नपूर्ण पोस्ट् दैनिक