विद्यार्थी र शिक्षकलाई एक हजार कागतीका बिरुवा
स्याङ्जा : विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयमा अध्ययनरत छात्रछात्रासहित शिक्षकलाई कागतीका विरुवा वितरण गरेका छन्।
पुतलीबजार नगरपालिका-१३ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोइरालाले विद्यार्थी र शिक्षकलाई कागतीका बिरुवा प्रदान गरेका हुन्।
किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान सिकाउने उद्देश्यले कोइरालाले एक हजार वटा सुनकागती जातका बिरुवा निःशुल्क उपलब्ध गराएको जनाए। कक्षा ६ देखि १२ कक्षामा अध्ययनरत सम्पूर्ण विद्यार्थी र शिक्षकलाई कृषिप्रति आकर्षण बढाउन यो विधि अपनाइएको हो।
जिल्लाका युवा किसानका रूपमा परिचित उनी सुन्तला उत्पादक किसान पनि हुन्। सुन्तलाबाट जिल्लामा धेरै रकम आम्दानी गर्नेमा उनको नाम पनि पर्छ।
सोही विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कोइरालाको यो दोस्रो कार्यकाल हो। स्याङ्जामा अमिलो जातका फलफूलको उत्पादन अत्यन्त राम्रो हुन्छ। यहाँ सुन्तलासहित कागतीले पनि राम्रो उत्पादन दिने गरेको कोइरालाको भनाइ छ।