सारंगी बजाएर गुजारा
गुल्मी : गुल्मीको इस्मा गाउँपालिका-४ दोहोलीका गन्धर्व दाजुभाइको गुजारा १० वर्षदेखि सारंगी बजाएर चलेको छ।
सारंगी बजाएर गीत गाउनका लागि उनीहरूका बुवा वीरबहादुर गन्धर्व गाउँमा चर्चित थिए। बुवाले थालेको पुर्ख्यौली पेसालाई उनीहरूले निरन्तरता दिँदै आएका हुन्।
नयाँ पुस्ताले खोजे अनुसारको संगीत भर्न नसकेपनि आफ्नो जीविकाका लागि जसोतसो उनीहरूले कर्म गर्न छाडेका छैनन्। ६० वर्षीय दुर्गबहादुर गन्धर्व र उनका ५८ वर्षीय भाई बाबुराम गन्धर्व इस्मा र मालिका गाउँपालिकाको घर घरमा पुगेर सारंगी रेट्छन्।
‘गाउँमा लाहुरेहरू आउँदा कहिलेकसो १५ सय पनि कमाइ हुन्छ’,दाई दुर्ग बहादुरले भने,‘धेरैजसो दिन २/४ सयमै चित्त बुझाउछौं।’
लोप हुँदै जान थालेको सारंगी बजाउनका लागि सरकारले सहयोग गर्न उनीहरूले आग्रह गरेका छन्। मौलिक संस्कृति बचाइराख्न आफूले धेरै योगदान दिएको उनीहरूको दाबी छ। आफूहरूले सक्दासम्म यसै पेसालाई निरन्तरता दिने दाजुभाइले सुनाए।