मोरङमा प्रशासनको पीडा : नागरिकता लिनेको लर्को, स्रोतसाधन र जनशक्तिको अभाव
विराटनगर : जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन थालिएसँगै जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकताविहीनहरूको लर्को लागेको छ।
उज्यालो नहुँदै नागरिकता बनाउन लाइनमा बस्नेहरूको भीड लाग्न थालेको हो। प्रशासनअगाडि नागरिकताको पर्खाइमा रहेकाहरूको लामो लाइन लागेसँगै भीड व्यवस्थापनमा प्रशासनलाई सकस परिरहेको छ। भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ।
नागरिकताका लागि आवेदन दिनेहरू पसिना पुछ्दै, छाता ओढेर घाम छल्दै र बच्चा च्याप्दै पालो पर्खिएर आआफ्ना कागजात हातमा बोकेर लामो लाइनमा उभिएका छन्। प्रशासन कार्यालयका अनुसार नागरिकता लिने सेवाग्राहीहरू बिहान झिसमिसेदेखि नै लाइनमा बसेका थिए। पालो छुट्ने डरले उनीहरू भोकै लाइनमा उभिइरहेका भेटिए।
नागरिकता लिनेहरूको लाइन प्रशासनको गेटदेखि शनिबारे हटियासम्म लागेको छ। लगभग २ सय ५० मिटर लामो लाइन लागेको प्रशासनले जनाएको छ। प्रशासनले सोमबार जन्मसिद्धका आधारमा नागरिकता लिएकाका सन्तानमध्ये १ सय २८ जनालाई नागरिकता वितरण गरेको थियो। मोरङमा जिल्ला प्रशासन कार्यालयसहित इलाका प्रशासन कार्यालयहरू रंगेली र उर्लाबारीबाट नागरिकता वितरण भइरहेको छ।
‘जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण सुरु गर्ने पहिलो दिन भएकाले सोमबार भीड अलि कम थियो। त्यही पनि सबैलाई नागरिकता दिन सम्भव भएन। दोस्रो दिन मंगलबार धेरै भीडभाड छ,’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, ‘जन्मसिद्धसँग जोडिएर मोरङमा नागरिकता लिनेको संख्या धेरै छ। भीड व्यवस्थापनमा मुस्किल परिरहेको छ। नागरिकता वितरणमा टोकन प्रणाली लागू गर्नुपर्ने अवस्था आयो।’
मंगलबार दिउँसोसम्ममा असार महिनाभरिका लागि टोकन वितरण गरिसकिएको जानकारी उनले दिए। प्रशासनले सोमबार मात्रै असार २२ गतेसम्मको टोकन बाँडेको थियो। टोकन प्राप्त गरेकाहरूले प्रशासनले उपलब्ध गराएको समयमा आएर नागरिकता लिनसक्ने पोखरेलले बताए। उनले जन्मसिद्धसँग जोडिएकालाई नागरिकता वितरणका लागि ३ जना कर्मचारी खटाएर छुट्टै कोठाको व्यवस्था गरिएको जानकारी दिए।
सहायक प्रजिअ पोखरेलका अनुसार एकपटकमा ४० जनाको समूहलाई टोकन वितरण गर्ने गरिएको छ। ‘लाइनमा लाग्नेले नागरिकता प्राप्त गर्नका लागि पूरा कागजात ल्याएका छन् किन छैनन् भनेर चेकजाँच गर्नुपर्छ। कागजात मिलेकालाई दिन तोकेर टोकन उपलब्ध गराउने गरिएको छ,’ उनले भने, ‘कागजान ठीक नहुनेलाई आवश्यक सबै कागजात लिएर आउनु भनेर फर्काउने गरिएको छ। सबै कागजात लिएर आएपछि उनीहरूले टोकन प्राप्त गर्ने छन्।’
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकका आधारमा सर्वोच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खुला गरेपछि प्रशासनबाट नेपाली नागरिकताको प्रमाणपत्र वितरण भइरहेको छ।
प्रशासनअगाडि मंगलबार दिउँसो १ बजेतिर भेटिएका मोरङको धनपालथान गाउँपालिका–६ का २६ वर्षीय मनोज मुखियाले आफू भोकै लाइनमा बसेको सुनाए। ‘केही नखाइकन बिहान ३ बजे रातिदेखि लाइनमा बसेको छु। बल्ल पालो आयो,’ उनले भने, ‘नागरिकता प्राप्त गर्न लामो समयदेखि संघर्ष गर्नुपर्यो। अहिले टन्टलापुर घाम र भोकको समेत प्रवाह नगरिकन लाइनमा बस्नु परिरहेको छ।’
मुखियालाई प्रशासनले असार २६ गते नागरिकता उपलब्ध गराउने गरी टोकन दिएर पठाएको छ। ‘१० घण्टासम्म लाइनमा बसेपछि बल्ल टोकन पाएँ,’ उनले भने, ‘अब नागरिकता लिन फेरि आउनुपर्ने भयो।’ नागरिकता नहुँदा आफूले धेरै समस्या झेल्नु परेको उनले सुनाए।
कटहरी गाउँपालिका–४ का अशोक मुखिया पत्नीसहित १ वर्षको बच्चा च्यापेर लाइनमा उभिएका थिए। ‘केही खाएको छैन। बच्चा पनि भोकाइसक्यो,’ उनी भन्छन्, ‘नागरिकता लिन धेरै दुःख खेप्नु पर्यो। हामी बिहान ४ बजेदेखि लाइनमा उभिएका छौं।’ मुखिया प्रशासनले व्यवस्थित हिसाबले नागरिकता वितरणको वातावरण बनाउनुपर्ने बताउँछन्।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नागरिकता लिनेको भीड अत्यधिक बढ्दा प्रशासनमा स्रोतसाधन, जनशक्ति र स्थानको अभाव भएको बताए। ‘कानुन अनुसारको प्रक्रिया पूरा गरेर आउने जन्मसिद्धका सन्तानलाई नागरिकता दिन थालिएको छ,’ उनले भने, ‘तर, ढिला गरेमा नागरिकता नपाइने पो हो कि भन्ने त्रास सर्वसाधारणमा रहेका कारण प्रशासनमा एकैपटक ठूलो भीड लागेको पायौं।’ थेगिनसक्नु भीडका कारण सेवा प्रवाहमै असर परिरहेको उनले बताए।
यादवका अनुसार नागरिकताका लागि सिफारिस गर्ने वडा कार्यालय र पालिकाका प्रमुखहरूसँग बसेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने बारेमा छलफल पनि भएको थियो। प्रशासनमा जनशक्ति अभाव रहेकाले र सेवाग्राहीले फेरि दुःख नपाउन् भनेर नागरिकताका लागि सिफारिस गरेर पठाउँदा सबै कुरामा ध्यान दिन सरोकारवालालाई आग्रह गरिएको उनी बताउँछन्। ‘नागरिकता वितरण गर्नु मात्रै ठूलो कुरा हैन। ‘रेकर्ड’ पनि व्यवस्थित तरिकाले राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि पर्याप्त स्रोतसाधन, जनशक्ति र स्थानको अभावको पीडा भोग्नु परेको छ। नियमित सेवा प्रवाहसँगै अतिरिक्त काम थपिँदा सकस भइरहेको छ।’
२०६३ सालको वितरण टोलीबाट मोरङमा ३५ हजार जनाजतिले जन्मका आधारमा नागरिकता लिएको र त्यसका आधारमा अब वंशजको नागरिकता लिनेको संख्या ८० हजार हाराहारीमा रहेको हुनसक्ने अनुमान गरिएको प्रजिअ यादवले बताए।
यसअघि प्रशासनले प्रतिलिपिसहित दैनिक १ सय ५० वटा हाराहारीमा नागरिकता जारी गर्दै आएको थियो। अहिले भीडभाड बढेको र सीमित जनशक्ति रहेका कारण नागरिकता वितरणमा समस्या भएको यादवले दोहोर्याए। ‘छुट्टै स्थान, जनशक्ति र कम्प्युटरको व्यवस्थापन गरेर काम अघि बढाउन पाए हुन्थ्यो। नियमित कामकै लागि कर्मचारीको अभाव थियो,’ उनले भने, ‘मौजुदा कर्मचारीलाई नियमित काम गर्न गाह्रो भइरहेका बेला नयाँ नागरिकता जारी गर्नुपर्ने अवस्था छ। नयाँ नागरिकता सम्बन्धी अतिरिक्त काम थपिएपछि असहज परिस्थितिको सिर्जना भएको छ।’
उनका अनुसार सरोकारवाला निकायहरूसँग छलफल गरेर नागरिकता वितरणलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको छ। उनले स्थानीय तह र प्रदेश सरकारसँग पनि आवश्यक सहयोगका लागि आग्रह गरिने जनाए। मोरङ प्रशासनमा प्रजिअसहित ४० जना कर्मचारीको दरबन्दी छ। २ जना अधिकृतसहित ४ जनाको दरबन्दी रिक्त छ।
बढ्दो भीडभाडले सेवा प्रवाहमा समस्या उत्पन्न गराएपछि गृह मन्त्रालयमा जनशक्ति र स्रोतसाधन थपका लागि आग्रह गरिसकिएको प्रजिअ यादव बताउँछन्। तर, केही प्रतिक्रिया नआएकाले भएका कर्मचारीबाटै काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए।