न्यायाधीशले घुस खाएको अभिव्यक्ति दिने कोसीका मन्त्रीविरुद्ध अवहेलना मुद्दा

न्यायाधीशले घुस खाएको अभिव्यक्ति दिने कोसीका मन्त्रीविरुद्ध अवहेलना मुद्दा
कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी।
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध अदालतको अवहेलना सम्बन्धी २ वटा मुद्दा दर्ता भएको छ। 

न्यायाधीशले घुस खाएर मुद्दामा आदेश गरेको विवादास्पद एवं आपत्तिजनक अभिव्यक्ति दिएका राजभण्डारीविरुद्ध उच्च अदालत विराटनगरमा मंगलबार अलगअलग मुद्दा दायर भएको हो। 

अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालतका तर्फबाट रजिष्ट्रार जितेन्द्रबाबू थपलियाले मुद्दा दायर गरेका छन्। प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले मुद्दामा ‘स्टे अडर’ जारी गरेको आरोप राजभण्डारीले सार्वजनिक रूपमै लगाएका थिए। 

अधिवक्ता घिमिरे र रजिष्ट्रार थपलियाको उजुरीमा मन्त्री राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३९ (२) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (२) बमोजिमको कसूर भएका कारण अदालतको अवहेलना बन्न पुगेको उल्लेख छ। उक्त दफाको उपदफा ४ बमोजिम १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको मागदाबीसहित मन्त्री राजभण्डारीविरुद्ध मुद्दा दर्ता भएको हो।

नेपालको संविधानको धारा १२६ (२) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १८ (१) मा अदालतले दिएको आदेशको पालना गर्नुपर्छ भन्ने बाध्यात्मक व्यवस्था छ। संविधान र कानूनको उल्लंघन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायालयमाथि द्वेष र घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दाबी निवेदकको छ।  

उच्च अदालत विराटनगर बार एशोसिएशनले पनि सोमबार विज्ञप्ति जारी गरेर मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो। मन्त्रीले आफ्नो संवैधानिक कर्तव्य बिर्सिएर अप्रमाणित र गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदै न्यायालयप्रति जनतामा भ्रम सृजना गर्ने काम गरेको ठहर बार एशोसिएशनको छ। 

एशोसिएशनका अध्यक्ष विश्वराम भट्टराई र सचिव विनोदकुमार तिमल्सिनाले विज्ञप्ति जारी गर्दै न्यायाधीशमाथि मन्त्री राजभण्डारीले लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका छन्। 

उच्च अदालत विराटनगरका न्यायाधीशले घुस खाएर मुद्दामा ‘स्टे अडर’ जारी गरेको अप्रमाणित आरोप लगाउँदै मन्त्री राजभण्डारीले आइतबार विवादास्पद अभिव्यक्ति दिएका थिए। 

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको विषयलाई लिएर मन्त्री राजभण्डारीले न्यायाधीशलाई फटाहा र जनताको नाममा कलंकसमेत भन्न भ्याए। 

झापाको दमकमा गत वैशाख १४ देखि १६ गतेसम्म आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा प्रदेशको नाम ‘कोसी’ नलेखेको कारण देखाउँदै प्रदेश खेलकुद बोर्डका सदस्य सचिव वाग्लेलाई गत जेठ ३ गते बसेको कोसी प्रदेशको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो। 

उच्च अदालत विराटनगरका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले जेठ ५ गते प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। 

दुवै पक्षसँगको छलफलपछि न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले जेठ २२ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दियो। त्यसपछि वाग्ले काममा फर्किएका छन्। त्यही आदेशलाई लिएर प्रदेशको खेलकुद क्षेत्र हेर्दै आएको मन्त्रालयका मन्त्रीले भने न्यायाधीशले घुस खाएर ‘स्टे अडर’ दिएको आरोप लगाएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.