दोलखामा ५६ घरधुरीलाई लालपुर्जा वितरण

दोलखामा ५६ घरधुरीलाई लालपुर्जा वितरण

दोलखा : भीमेश्वर नगरपालिका–१, क्षमावतीस्थित पानीपोखरी एकीकृत बस्तीका स्थानीयलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ। 

पानीपोखरीमा निर्माण सम्पन्न  बस्तीमा लाभग्राहीले घर बनाएपछि मात्र लालपुर्जा वितरण गरिने निर्णय अनुसार मंगलबार पुर्जा वितरण गरिएको हो। 

पुर्जा लिएर लाभग्राहीले घर नबनाएर सरकारी जग्गाको दुरुपयोग हुने भएकाले घर निर्माणपछि मात्र पुर्जा वितरण गर्ने निर्णय अनुसार निर्माण सम्पन्न भएपछि घरवालाले पुर्जा हात पारेको हो।

सरकारले पुनर्निर्माण प्राधिकरणमार्फत ५६ घरधुरीलाई पानीपोखरीमा एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने निर्णय गरेको थियो। 

प्राधिकरणको निर्देशनअनुसार जग्गा दर्ता समितिले बस्ती निर्माण प्रक्रिया टुंग्याएपछि निजी आवास निर्माणको काम सम्पन्न भएको थियो। २०७२ सालको भूकम्पपछि बोसिम्पालाई उच्च जोखिमको क्षेत्र रहेको प्रतिवेदनपछि त्यहाँका ८४ घरधुरीमध्ये ५६ परिवार पानीपोखरीमा टहरा बनाएर बस्दै आएका थिए। 

वडा नम्बर १ को बोसिम्पा गाउँ तथा चानपुजेका स्थानीयहरूको घर भत्किई जग्गासमेत चिरा–चिरा परेपछि भूगर्भविदले ति ठाउँहरू बस्न अयोग्य ठानेपछि स्थानीय पानीपोखरी चौरमा एकीकृत बस्ती निर्माण गर्ने पुनर्निर्माण प्राधिकरणले निर्णय गरेको थियो। आवश्यक भौतिक पूर्वाधारको विकास गरेपछि सो ठाउँमा भवनहरू बनाइएको थियो।

एकीकृत बस्तीका लागि जग्गा प्राप्ति, राजश्व एवं सरकारी निकायबीचको समन्वय अभाव, ढिला सुस्ती, आर्थिक तथा नीतिगत समस्यालगायत विभिन्न अल्झनका कारण एकीकृत बस्ती निर्माण सुरु हुन नै ढिला भएको थियो।

२०७६ सालमा एकीकृत बस्ती निर्माणका लागि जग्गा उपलब्ध गराउने तथा स्थानीयलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरिएबमोजिम एकीकृत बस्तीका ५६ घरधुरीलाई भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले मंगलबार जग्गाधनी पुर्जा वितरण गरेका हुन्। 

मालपोत कार्यालय दोलखाका प्रतिनिधि लेखनाथ चौलागाईंले सो बस्तीका घर धनीहरूका श्रीमान् श्रीमतीकै नाममा संयुक्त जग्गाधनी पुर्जा निर्माण गरिएको तथा कार्यविधिले तोकेअनुसार १० वर्षसम्म हक हस्तान्तरण गर्न नपाइने जानकारी दिएका छन्। 

आफूहरूले लालपुर्जा पाएपछि बल्ल घर आफ्नै भए जस्तो लागेको एकीकृत बस्तीकी ७६ वर्षीय बुधमाया थामीले बताइन्। पानीको समस्या भएको गुनासो गर्दै उनले आफूहरूको बसाई सहज बनाउन नगरले पानीको व्यवस्था मिलाई दिन आग्रह गरेकी छिन्।

भूकम्प पछिको पुनर्निर्माणका क्रममा भीमेश्वर नगरपालिका-१ र ४ जिलुमा एकीकृत नमुना बस्तीको निर्माण गरिएको थियो। सो मध्ये वडा नम्बर १ मा जग्गाधनी पुर्जा वितरण गरिएको छ भने वडा नम्बर ४ को जिलु एकीकृत बस्तीमा भने हालसम्म पुर्जा वितरण हुन सकेको छैन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.