बलात्कार प्रयासका आरोपी अदालतका अधिकृत धरौटीमा रिहा

बलात्कार प्रयासका आरोपी अदालतका अधिकृत धरौटीमा रिहा

विराटनगर : बलात्कार प्रयासको आरोपमा पक्राउ परेका उच्च अदालत राजविराज सप्तरीका अधिकृत ४६ वर्षीय नारायण प्याकुरेल धरौटीमा रिहा भएका छन्। 

जिल्ला अदालत मोरङले २ लाख रूपैयाँ धरौटी लिएर उनलाई छाड्न मंगलबार आदेश दिएको हो। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्याकुरेललाई धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। उनका अनुसार आदेशपछि धरौटीवापतको रकम जम्मा गरेर प्याकुरेल छुटेका छन्। 

‘तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी प्रतिवादीलाई २ लाख धरौटी लिएर हाललाई पुर्पक्षका लागि तारेखमा राख्नू। धरौटीवापतको रकम तिर्न नसकेमा थुनामा पठाउनु,’ अदालतको आदेशमा भनिएको छ। विराटनगर महानगरपालिका–४ घर भएका प्याकुरेललाई प्रहरीले जेठ २४ गते पक्राउ गरेको थियो। 

विराटनगरकै २३ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेर उनीविरुद्ध जरबजस्ती करणी उद्योगको मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको हो। पछिल्लो समय जेठ २३ गते राति घटना भएको जाहेरीमा उल्लेख छ। 

पीडित युवतीलाई यसअघि पनि प्याकुरेलले बलात्कारको प्रयास गरेको अनुसन्धानका क्रममा खुलेको थियो। पछिल्लो घटनामा प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै प्याकुरेललाई प्रतिवादी बनाएर सोमबार मोरङ अदालतमा मुद्दा दायर गरेको हो। 

वादी नेपाल सरकार र प्रतिवादी प्याकुरेलका कानुन व्यवसायीबीच थुनछेक बहस भएपछि उनीविरुद्धको मुद्दामा अदालतले आदेश दियो। अदालतजस्तो संवेदनशील निकायमा कार्यरत अधिकृत प्याकुरेल विवादास्पद पृष्ठभूमिका कर्मचारी हुन्। विभिन्न घटनालाई लिएर पटकपटक विवादमा पर्दै आएका उनीविरुद्ध यसअघि पनि मोरङ प्रहरीले मुद्दा चलाएको थियो। 

उनी यसअघि विभिन्न अदालतमा कार्यरत रहँदा विवादमा आइरहेका चिरपरिचत कर्मचारी हुन्। अदालतका कर्मचारीमाथि हातपात एवं दुर्व्यवहार गरेको, सडकमा खटिएका प्रहरीलाई कुटपिट गरेको, अदालतको धामस दिएर सर्वसाधारणलाई दुःख दिने गरेको लगायतका विवादमा प्याकुरेल मुछिँदै आएका थिए। जिल्ला अदालत सोलुखुम्बु, ओखलढुंगा, सप्तरी, मोरङ र उच्च अदालत विराटनगरलगायतमा कार्यरत रहँदा उनी विभिन्न विवादमा मुछिएका हुन्। 

जिल्ला अदालत सोलुखुम्बुमा महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको विषयलाई लिएर उनको मुगु सरुवा गरिएको थियो। जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा कार्यरत रहँदा सडकमा खटिएका प्रहरीमाथि आक्रमणमा उत्रिएको घटनालाई लिएर प्रहरीले २ पटक उनलाई पक्राउ गरेको थियो। 

उच्चमा कार्यरत रहँदा भने प्रहरीले अभद्र व्यवहार मुद्दा चलायो। ‘प्याकुरेल जुनसुकै अदालतमा कार्यरत रहँदा पनि पटकपटक विवादमा आइरहने कर्मचारी हुन्। विभिन्न आपराधिक घटनामा संलग्न भएपनि पावर र पहुँचका भरमा उन्मुक्ति पाइरहे,’ अदालत स्रोतले भन्यो, ‘बलात्कार प्रयासको पछिल्लो घटना त्यसकै परिणति हो। बारम्बार विवादमा आइरहँदा पनि सधैँ उनलाई जोगाउने काम मात्रै हुन्छ।’ जहाँ कार्यरत रहे पनि कुनै न कुनै हिसाबले उनी विवादमा आइरहने अदालतका कर्मचारी बताउँछन्। 

मदिरा सेवन गरेर उच्च अदालत राजविराजको प्रशासनका अधिकृत हरिशंकर महतोलाई हातपात गरेपछि प्याकुरेलको उच्च अदालत वीरगन्ज सरुवा भएको थियो। वीरगन्ज जान नपाउँदै बलात्कार प्रयासको आरोपमा उनी पक्राउ परेका हुन्। यही घटनामा पनि प्याकुरेलविरुद्ध मुद्दा नचलाउन ठूलो चलखेल भएको स्रोतको भनाइ छ। 

मुद्दामा अभियोजन गर्नुपर्ने सरकारी वकिलहरू नै प्याकुरेललाई बचाउन खुलेआम लागेको अदालतका एक कर्मचारी बताउँछन्। प्रहरीमा बस्नुपर्ने हिरासतको अवधि पनि प्याकुरेलले बिरामी भएको भन्दै नोवेल शिक्षण अस्पतालमा कटाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.