मुस्ताङका पशुचौपायामा पनि ‘लम्पी स्कीन’
जोमसोम : मुस्ताङमा ‘लम्की स्कीन’रोग संक्रमण पुष्टि भएको छ।
जिल्लाको घरपझोङ र थासाङ गाउँपालिकाका विभिन्न पशुपालकहरुको ८ वटा गोठमा गरिएको पशुचौपायाको परीक्षणबाट १५ वटा पशुचौपायामा ‘लम्की स्कीन’रोग संक्रमण पुष्टि भएको जिल्ला भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ।
अस्पतालका कार्यालय प्रमुख दण्डपाणी शर्माका अनुसार लम्की स्कीन संक्रमित १५ वटा पशुचौपाया मध्ये २ वटा पशुचौपाया मरेको उल्लेख गरे।
एक साताअघि मुस्ताङको थासाङ गाउँपालिका-४ घाँसा र थासाङ -५ वडाको टिटीमा गरिएको पशुचौपायाको परीक्षणबाट १० वटा पशुचौपायामा लम्की स्कीन संक्रमण देखिएको हो।
घाँसा गाउँमा स्थानीय अनुप प्रसाद छन्त्यालको गोठमा ४ वटा लोकल गाई ,स्थानीय उदय नेपालीको गोठमा २ लोकल गाई, प्रेमलाल विकको गोठबाट १ गोरु, लाटा श्रेष्ठको गोठबाट २ वटा गोरु र टिटी गाउँमा एकजनाको गोठबाट १ गोरुमा लम्की स्कीन संक्रमण देखा परेको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक ऋषिराम पोखरेलले जानकारी दिए।
उनका अनुसार मुस्ताङको थासाङस्थित घाँसामा गरिएको चौपाया परीक्षण मध्ये स्थानीय अनुपप्रसाद छन्त्याल र उदय नेपालीको २ वटा गाई लम्की स्कीन रोगको संक्रमणबाट मरेका हुन्।
यसैगरी मुस्ताङको घरपझोङ-३ स्याङ गाउँमा आइतबार गरिएको पशु परीक्षणमा स्थानीय भवबहादुर थकालीको उन्नत जर्सी गाई २ वटा,विनोद थकालीको उन्नत जर्सी गाई २ वटा र लक्ष्मण थकालीको उन्नत जर्सी गाई १ गरी ५ वटा उन्नत जर्सी गाईमा लम्की स्कीन रोग संक्रमण फेला परेको केन्द्रले जनाएको छ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा १० दिन अघि (लम्की स्कीन) संक्रमण भाइरलको डिजिट रोग भ्याक्सिन लगाइएको भएपनि पशुचौपायामा संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उल्लेख गरेको छ।
कार्यालयका अनुसार पशुचौपायामा लगाइएको भ्याक्सिनले काम गर्न ३ साताको समय लाग्ने भएकाले रोग देखिन पुगेको हो।