सीमा क्षेत्रको आकाशे पुल निर्माण भन्सारले रोक्यो
विराटनगर : नेपाल–भारत सीमा क्षेत्र नजिक विराटनगर महानगरपालिका–१५ रानीमा स्वागतद्वार सहितको आकाशे पुल निर्माण भन्सारले रोकिदिएको छ।
कोसी प्रदेश सरकार, विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङको संयुक्त लगानीमा आकाशे पुल निर्माण सुरु गरिएको थियो। प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गत चैत ७ गते शिलान्यास गरेपछि स्वागत गेटसहितको आकाशे पुलको काम अघि बढेको थियो।
विराटनगर भन्सार कार्यालयले आफ्नो क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको पुलको काम रोकिदिएको हो। भन्सारजस्तो अति संवेदनशील क्षेत्रमा आकाशे पुल निर्माण नगर्न भन्सारले शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरलाई पत्राचार गरेको थियो। तर, काम अघि बढ्यो। सशस्त्र प्रहरीको सहयोगमा भन्सारले शनिबारदेखि काम रोकिदिएको हो।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालका अनुसार सीमा एवं भन्सार क्षेत्र संवेदनशील हुने हुँदा आकाशे पुल निर्माण नगर्न पत्राचार गरिएको थियो। ‘दुई देशीय सीमानजिक भन्सारको क्षेत्रमा पुल निर्माण नगर्न आग्रह गरियो। बिना स्वीकृति काम अघि बढाइएको थियो,’ उनले भने, ‘भन्सार क्षेत्रमा लिफ्टसहितको आकाशे पुल बनाउँदा सुरक्षा खतरा बढ्छ। सुरक्षा संवेदनशीलता र जोखिमका कारण काम रोक्नुपर्ने अवस्था आयो।’
गेट मात्रै बनाउँदा आपत्ति नहुने भएपनि ५ मिटर अग्लो आकाशे पुल बनाउनु जोखिमपूर्ण हुने उनको भनाइ छ। ‘पुलका कारण मानिसको जमघट भएर सुरक्षा खतरा बढ्छ,’ ढकाल भन्छन्, ‘भन्सार विभागसँग निर्माणको अनुमतिसमेत लिइएको छैन।’ उनले विभागले अनुमति दियो भने भन्सारले काम नरोक्ने स्पष्ट पारे।
लिफ्टसहितको आकाशे पुल र स्वागत गेट निर्माणको जिम्मा ह्याबिटाट आशिषदीप जेभी लिएको थियो। निर्माण कम्पनीले शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरसँग ६ करोड २५ लाख २४ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको हो। निर्माणको अवधि २०८१ साल फागुन २५ गतेसम्मको थियो। निर्माणमा प्रदेश सरकारले ७५ प्रतिशत, विराटनगर महानगरले २० र उद्योग संगठन मोरङले ५ प्रतिशत लगानी गर्ने त्रिपक्षीय सहमति छ।
प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले २०७७ जेठ २७ गते स्वागतद्वार र आकाशे पुल निर्माणमा सहजीकरण गरिदिन भन्सारलाई आग्रह गरेको थियो। तर, भन्सार कार्यालयले संवेदनशील क्षेत्रमा निर्माण गर्न नमिल्ने भन्यो। त्यसका बाबजुत पनि स्वागतद्वारासहितको आकाशे पुल निर्माण सुरु भएको थियो।
शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख रुद्रनारायण मिश्र ठेक्का लागिसकेको परियोजनाको काम रोक्न नमिल्ने बताउँछन्। ‘निर्माणमा सहजीकरण गरिदिन र काम नरोक्न भन्सारलाई आग्रह गरिएको छ,’ उनले भने, ‘कुनै असहज परिस्थित आउने भएमा आकाशे पुलको माथिल्लो डिजाइन परिवर्तन गर्न सकिन्छ।’
अहिले बेस निर्माण हुँदा हुँदै काम रोकिएको मिश्रले बताए। स्वागत गेटसहितको आकाशे पुल निर्माणस्थल भारतको जोगवनीबाट लगभग १ सयमिटर उत्तरमा मात्रै छ। भारतले भने सीमा क्षेत्रको दशगजामै जोडेर स्वागतद्वार बनाएको छ।