विधिविरुद्ध बालेन्द्र
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका कार्यशैली कुनै तानाशाहका भन्दा कम छैनन्। तानाशाह त्यो हो, जो आफूलाई सर्वेसर्वा ठान्छ अनि आफ्नो आदेशलाई कानुन मान्नुपर्छ भन्दै सोहीअनुसार आदेशनिर्देश गर्छ। तर लोकतन्त्र भनेको व्यक्तिको होइन, विधिको शासन हो।
बालेनले भने विधिको शासनको धज्जी उडाएका छन्। कानुनी राजको उपहास गरेका छन्। कहिले भारतीय फिल्म आदिपुरुषमा हुँदै नभएको ‘सीता भारतीय छोरी’ भन्ने संवादको बखेडा झिके। त्यसमाथि उनले फिल्म नरोक्न अदालतले दिएको आदेशलाई नै चुनौती दिँदै न्यायपालिकाको मानहानी गरे। अझ म नै कानुन हुँ र म नै न्यायदाता पनि हुँ भन्ने देखाइरहे।
न्यायपालिका सम्बन्धमा बालेन दोहोरो चरित्र राख्छन्। आफ्नो पक्षमा भए ठीक र विपक्षमा भए बेठीक। र, त्यसैले हिन्दी फिल्म प्रतिबन्ध प्रकरणमा उनी सामाजिक सञ्जालमार्फत अदालतप्रति विषवमन गर्छन् र नागरिक उड्डयन प्राधिकरणले अनुमतिबिना भवन बनाउँदा तारबार हटाइएको सन्दर्भको अदालती आदेशको स्वागत गर्छन्। बालेन जननिर्वाचित हुँदाहुँदै सर्वसत्तावादी र निरंकुश तानाशाहको शैलीमा प्रकट हुनु लोकतान्त्रिक अवसरकै कारण आफू मेयर निर्वाचित हुन सकेको भन्ने बिर्सनु हो। र, उनले के पनि बिर्सेका छन् भने उनी केवल व्यक्ति बालेन्द्र साह होइनन्, काठमाडौं महानगरपालिकाको जिम्मेवार मेयर हुन्। त्यो संस्थागत जिम्मेवारी हो, जहाँ उनको मनलाग्दी चल्दैन, चल्छ त केवल विधि र विधान। मेयर आफैंमा कार्यकारी जिम्मेवारी हो तर लोकतन्त्रमा कार्यकारी अधिकार हुनेसँगै न्यायिक अधिकार हुँदैन र हुनु हुँदैन।
त्यसैले त लोकतन्त्रले शक्ति पृथकीकरणको सिद्धान्त अपनाउँछ र स्वतन्त्र न्यायपालिकालाई न्याय निष्पादनको जिम्मेवारी रहन्छ। कहिले गैरजिम्मेवार ढंगले सुकुम्बासी बस्तीमा डोजर चलाउने, कहिले सिंहदरबारको फोहोर नउठाउने त कहिले फुटपाथमा व्यवसाय गर्नेमाथि अमानवीय आक्रमण गर्ने हर्कत गरेर बालेनले आफूलाई हिन्दी फिल्म ‘नायक’ कै नायक भएको भ्रम पाल्नु केटौलेपनबाहेक केही होइन।
स्वतन्त्र उम्मेदवार भइकन पनि ठूला र पुराना पार्टीप्रतिको वितृष्णाको मत पाएर विजयी बालेनलाई हेक्का हुनुपर्छ उनको पद निश्चित कालखण्डका लागि मात्रै हो तर महानगरपालिका भनेको अविच्छिन संस्था हो। नेतृत्व परिवर्तन भइरहन सक्छ, तर, लोकतान्त्रिक विधि र पद्धति बदलिनु हुँदैन। तर पटक्कै जनउत्तरदायी हुन नरुचाउने र अपारदर्शी तवरले एक्लैएक्लै हिँडेर बलमिच्याइँ गर्ने बालेन्द्रको स्वभाव निरंकुश त हुँदै हो, लोकतन्त्रका लागि पनि उत्तिकै घातक पनि।