मोरङको बूढीगंगाबाट ३८ किलो गाँजा बरामद
विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवाबाट प्रहरीले बुधबार बिहान अन्दाजी ३८ किलोग्राम गाँजा बरामद गरेको छ ।
कोसी लोकमार्गमा चेकजाँचका लागि खटिएको इलाका प्रहरी कार्यालय नेमुवाका प्रमुख एवं प्रहरी नायव निरीक्षक (सइ) उज्वल शाक्य नेतृत्वको टोलीले लागूऔषध गाँजा बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार इलाका प्रहरी कार्यालय नेमुवाअगाडिबाटै गाँजा बरामद गरिएको छ ।
गाँजा ओसारपसारमा संलग्न भने प्रहरीलाई छलेर भाग्न सफल भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चेकजाँचका लागि प्रहरीले बिहान ५ बजेतिर रोक्न खोजेको थियो । जेब्रा झोला र पछाडि बोकेको भिर्ने झोला सडकमा फालेर मोटरसाइकलमा सवार व्यक्ति फरार बनेको डीएसपी दाहालले बताए ।
उनका अनुसार नियन्त्रणमा लिएर दुवै झोला खानतलासी गर्दा अन्दाजी ३८ किलोग्राम गाँजा बरामद भएको छ । फरार रहेको मोटरसाइकल र मोटरसाइकलमा सवार रहेका २ जनाको खोजी तीव्र पारिएको दाहालले बताए । उनका अनुसार नेपालमा अवैध हिसाबले उत्पादन गरिने गाँजा भारततिर लैजान खोजिएको हुनसक्ने आशंका गरिएको छ । गाँजा नेमुवामै राखेर घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको गाँजा ।