विराटनगरको सुनचाँदी पसलमा तोडफोड, सञ्चालकमाथि आक्रमण
विराटनगर : विराटनगर महानगरपालिका–४ चाँदनी चोकस्थित एउटा ज्वलर्स (सुनचाँदी पसल)मा मंगलबार साँझ तोडफोड भएको छ।
तोडफोडबाट चाँदनी चोकको श्री गोकुलम ज्वलेर्समा क्षति पुगेको छ। विराटनगर–५ का अन्दाजी ४५ वर्षीय महावीर यादवले ज्वलेर्समा तोडफोड गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार घटना साँझ ५ बजेतिरको हो।
मादक पदार्थ सेवन (मापसे) गरी ढोका तोड्दै ज्वेलर्सभित्र छिरेर यादवले तोडफोड गर्दै ढोका र काउन्टरका शिशा तथा सुनचाँदी राखेका र्याकमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। यादवले ज्वलेर्सका सञ्चालक सरलराज पोखरेलमाथि आक्रमण पनि गरेको डीएसपी दाहालले बताए। पोखरेको शरीरका विभिन्न भागमा चोट लागेको छ।
‘मापसे गरेका व्यक्ति एक्कासि ज्वलेर्सभित्र छिरेर तोडफोड र आक्रमणमा उत्रिएको पायौं,’ डीएसपी दाहालले भने, ‘तोडफोडबाट पसलमा रहेको शिशाको ढोका, काउन्टर र सुनचाँदी राखिएका र्याकमा क्षति पुगेको छ।’ फुटेका शिशा पसलभरि यत्रतत्र छरिएका छन्। घटनास्थलमा रगत लतपतिएको छ।
ज्वलेर्स सञ्चालक पोखरेलले आफू काउन्टरमा बसेर बिल बनाइरहेका बेला शिशाको ढोका तोड्दै एक्कासि भित्र पसेर यादवले आक्रमण गरेको बताए। ‘ढोका फुटाएर भित्र छिरेका यादवले पसलमा तोडफोड गर्दै मलाई शिशाले प्रहार गरे। रोक्ने हुँदा हात र शरीरका विभिन्न भागमा चोट लागेको छ,’ उनले भने, ‘ज्यान मार्ने र पसलमा लुटपाट गर्ने उद्देश्यले आएजस्तो देखिन्छ। बल्लबल्ल बाहिर निस्किन पाएकाले बाँच्न सफल भएँ।’
स्थानीयका अनुसार पोखरेल र यादवबीच निक्कै बेर घम्साघम्सी भएको थियो। यादवले प्रहार गर्ने र पोखरेलले रोक्ने क्रम केही बेरसम्म चलेको प्रत्यक्षदर्शीको भनाइ छ। पछि प्रहरी आएर यादवलाई पक्राउ गर्यो। ज्वेलर्समा तोडफोड गर्दा शिशाले यादवको हातसमेत काटेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यादव ज्वेलर्सका पूर्वकामदार हुन्। पोखरेल र यादवबीच पुरानै रिसाईबी थियो कि एक्कासि घटना भएको हो भनेर अनुसन्धानपछि मात्रै यकिन हुने डीएसपी दाहालले बताए। यादवलाई नियन्त्रणमा लिएर पसलमा रहेको सीसी क्यामेरोको फुटेज अध्ययन गर्दै विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए।
तोडफोड भएको श्री गोकुलम ज्वलेर्सअगाडि भेला भएका स्थानीय।
पोखरेलले भने यादवसँग आफ्नो कुनै रिसाईबी नरहेको र उनले काम गरेवापतको सबै रकम दिइसकेको बताएका छन्। ‘पूर्वकामदारबाट बिना कारण पसलमा तोडफोड र ममाथि आक्रमण भएको छ,’ उनले भने, ‘घटना हुँदा भीडभाड धेरै भएकाले पसलबाट गहना पनि हराएको हुनसक्छ।’ उनले घटनाको सबै दृष्य सीसी क्यामेरामा कैद भएको पनि बताए।
तोडफोडबाट ३ लाख बढीको क्षति भएको पोखरेलको भनाइ छ। पोखरेल ग्यासको कारोबार पनि गर्छन्। उनी ग्यास बिक्रेता महासंघ कोसी प्रदेशका अध्यक्षसमेत हुन्।