भेलमा हेलिने दिन गए
गोरखा : पालुङटार नगरपालिका–९ बिर्दी तथा आसपासका विद्यार्थी अब बर्खाका बेला स्कुल जान खारखोलाको भेलमा हेलिनु नपर्ने भएको छ। धर्मोदय मावि जाने बाटोमा पर्ने खारखोलामा स्टिलको ट्रस्ट पुल निर्माण भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू विगतका वर्षहरूमा झैँ खारखोलाको भेलमा हेलिनु नपर्ने भएको हो।
पुल नहुँदा विद्यार्थीले भोग्नु परेको समस्या समाधान गर्न हिमाली क्षेत्र विकास केन्द्रले हालसालै स्टिलको ट्रस्ट पुल निर्माण सम्पन्न गरेको छ। दरौंदीडाँडा र बिर्दी क्षेत्र जोड्ने गरी ३२ मिटर लामो ट्रस्ट पुल निर्माण गरिएको हिमाली क्षेत्र विकास केन्द्रका वीरवल घलेले जानकारी दिए।
३६ लाख १४ हजार ९ सय १२ रुपैयाँ लागतमा सो ट्रस्ट पुल निर्माण गरिएको उनले बताए। सो पुल निर्माण भएपछि विद्यार्थीहरू ज्यानको बाजी थापेर भेलमा हेलिएर विद्यालय जानुपर्ने बाध्यताबाट मुक्त भएको उपभोक्ता समितिका अध्यक्ष भरत कुमालले बताए। साथै, सो संस्थाले पालुङटार नगरपालिका–१ खारखोलामा पनि स्टिलको ट्रस्ट पुल निर्माण गरेको छ।
वडा नं. १ खोप्लाङ र वडा नं. १० मिरकोट जोड्ने गरी पुल निर्माण गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष जितबहादुर देवकोटाले बताए। उक्त पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई बर्खाका बेला खोला वारपार गर्न सहज भएको देवकोटाले बताए।
सोही पुल भएर दुवै गाउँका सयौं घरपरिवारले आउजाउ गर्ने र अन्नपात ओसारपसार गर्ने गर्छन्। २४ मिटर लामो सो ट्रस पुल २४ लाख ८१ हजार २ सय १५ रुपैयाँमा निर्माण भएको हिमाली क्षेत्र विकास केन्द्र सचिव वीरवल घलेले बताए।