कर्णालीमा एमालेद्वारा संसद अवरोध
वीरेन्द्रनगर : कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ। प्रदेश सभाको १६औं बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका थियो। तर एमालेको अवरोधका कारण संसद अवरुद्व भएको हो।
सदन सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाँडिएको र यसबाट प्रदेशको विकास र परिवर्तन सम्भवन नहुने बताए। उनले बजेटमा पूर्णरूपमा बिचौलिया प्रवेश गरेको पनि आरोप लगाए। उनले बजेट निर्माणमा योजना आयोगबाट नै बार्गेनिङ भएको र आयोगले बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही गरेपनि नाम गोप्य राखेको भन्दै आपत्ति जनाए।
अर्थमन्त्रीले नै बजेट निर्माणमा दबाब आएको कुरा सार्वजनिक गरेपछि एमालेले सोही विषयलाई हतियार बनाएको हो। लगत्तै एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर सदन अवरोध गरेको छ। सभामुख नन्दा गुरुङले पटक-पटक सभा सञ्चालनमा समेत सहयोग गर्न आग्रह गर्दा पनि नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको हो।