जलवायुको असर स्याउ खेतीमा
जोमसोम : पछिल्लो समय हिमाली जिल्लामा जलवायु परिवर्तनको असर प्रत्यक्ष र परोक्षरूपमा देखिन थालेको छ। जलवायु परिवर्तनले हिमाली जिल्लाको मौसमी तापमानसमेत वृद्धि हुँदै जाने थालेको छ।
केही वर्षयता मुस्ताङको मौसमी तापमान फेरिन थालेपछि यहाँको कृषि क्षेत्रमा नकारात्मक प्रभाव पर्न थालेको छ। मौसमी तापमानमा आएको परिवर्तनसँगै उच्चउचाईतर्फ स्याउ खेतीले बसाई सर्न थालेको कतिपयको बुझाई छ।
हिउँ पर्ने समयमा हिउँ नपर्ने, हिउँ नपर्ने समयमा हिउँ पर्ने र वर्षा कम पर्ने भनिएर चिनिने मुस्ताङमा निरन्तरको वर्षाले यहाँका किसानले गर्दै आइरहेको सदिँयौदेखिको परम्परागत स्याउ खेती जोखिममा पर्न थालेको हो।
पछिल्लो समय मुस्ताङका कृषकहरू स्याउ खेतीतर्फको आर्कषण बढ्दै गइरहे पनि जलवायु परिवर्तनको असरले यहाँका कृषि व्यवसायले प्रत्यक्ष प्रभाव पार्न थालेको बताइएको छ। यहाँ बर्सेनि स्याउ खेतीको क्षेत्रफल बढ्दै गईरहेपनि स्याउ उत्पादन क्षमतामा भने जलवायुको प्रभावले बाधक बनाइदिएको छ।
यसवर्ष स्याउ बोटमा परागसेचन (पोलिनेसन) हुने बेला पटक-पटक वर्षा भयो। वर्षाकै कारण स्याउ बोटमा फुल फुल्ने बेला परागसेचन हुन पाएन। स्याउ बोटको फुलमा परागसेचन हुन नपाएकाले मुस्ताङमा यसवर्ष स्याउ उत्पादन ४० देखि ५० प्रतिशतले घट्ने कृषि ज्ञान केन्द्र मुस्ताङको प्रारम्भिक अनुमान छ।
अक्सर वैशाख, जेठ महिनामा स्याउ बोटमा फुल फुल्न थाल्छ। स्याउ बोटमा फुल फुल्ने बेला मौसम अनुकुलित र सन्तुलित हुनुपर्छ। तर यो वर्ष स्याउको फूल फूल्ने बेला निरन्तर वर्षा भएकाले स्याउ बोटमा फल कम लागेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। स्याउको मुख्य पकेट क्षेत्र मानिएको तल्लो मुस्ताङको वारागुङ,घरपझोङ र थासाङ गाउँपालिकामा एक महिनासम्म वर्षा भएकाले स्याउको फुलमा परागसेचन हुन नपाएको केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ।
‘पुस र माघ महिनाको अनुकुल मौसममा यहाँ हिउँ परेन। तापक्रम पनि खासै घटेन,’ उनले भने, ‘तापक्रम बढ्ने समयमा पनि बेमौसमे हिमपातसँगै वर्षा हुनुले स्याउ बोटमा फल कम लागेको हो। कृषकले स्याउ बगैचा व्यवस्थापन र उचित विषादीको प्रयोग गरेपनि यसले स्याउ उत्पादन क्षमतामा खासै अर्थ राख्दैन।’
पुस्तौदेखि स्याउ खेती गर्दैआईरहेका मुस्ताङको घरपझोङ-३ स्याङका कृषक जीवन थकालीले पनि स्याउ खेतीमा सक्रिय छन्। व्यवसायिक स्याउ खेती गर्दै आइरहेका थकालीले पछिल्लो समय स्याउ खेतीमा सन्तुष्ठ छैनन्। जलवायु परिवर्तनको असरले स्याउ खेतीमा पारेको प्रभावले उनी चिन्तित छन्। उनले यस वर्ष निरन्तरको वर्षा र तुषारोले मुस्ताङमा स्याउ उत्पादनदर ठूलो मात्रामा ह्रास आउने प्रक्ष्येपण गरे।
‘धेरै कृषकहरुको स्याउ बगैचा अवलोकन गरियो। बोटमा फलका दाना एकदमै कमी छ,’ कृषक थकालीले भने, ‘स्याउको फुल फुल्ने बेला मौसम सन्तुलित हुनु पर्नेमा वर्षाले गर्दा फुल झर्ने र फुलमा परागसेचन हुन नपाउँदा फलको संख्या कम भएको हो।’
मुस्ताङमा चालु वर्ष ६ हजार ५९७ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। आर्थिक वर्ष २०७९-०८० मा जिल्लाको कुल ५८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटमा उक्त परिमाणमा स्याउ उत्पादन भएको थियो।