कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदै

कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदै
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की।
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसद (प्रदेशसभा)बाट आज (बिहीबार) विश्वासको मत लिँदै छन्। 

नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको तेस्रो अधिवेशन दिउँसो १ बजेका लागि बोलाइएको छ। तेस्रो अधिवेशनको पहिलो बैठकबाटै उनले विश्वासको मत लिने भएका हुन्। 

सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसदमा आफ्नो बहुमतसिद्ध गर्न मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। 

सहयात्री दलले सरकार छाडेपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ। कोसीमा सत्तारुढ एमालेसँग ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग ६ जना सांसद (प्रदेशसभा सदस्य) छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। कार्कीले विश्वासको मत पाउन थप १ सांसदको साथ आवश्यक परेको छ। 

विपक्षी दलहरुमध्ये नेपाली कांग्रेससँग २९, माओवादी (सभामुखबाहेक)सँग १२, नेकपा (एकीकृत समाजवादी)सँग ४ र जसपासँग १ जना सांसद छन्। नेपाली, माओवादी, एकीकृत समाजवादी र जसपा सम्मिलित गठबन्धनको पनि बहुमत पुग्दैन। गठबन्धनसँग पनि सभामुखबाहेक ४६ जना मात्रै सांसद छन्। 

समान मत भएका कारण नयाँ सरकार गठनमा निर्णायक मतका लागि प्रतिपक्षीले सभामुखलाई प्रयोग गर्ने रणनीति बनाएको छ। तर, सरकार गठनमा सभामुखले निर्णायक मत दिनु संविधानको मर्मविपरीत हुने कानुनविद्हरुको भनाइ छ। दल त्यागको घोषणा गरिसकेको र प्रदेशसभा सदस्य मात्रै रहेकाले सरकार गठन प्रक्रियामा सभामुख सहभागी हुन नपाउने उनीहरु बताउँछन्। 
 
सत्ता र प्रतिपक्षसँग सामान सांसद रहेका कारण कोसी प्रदेशमा नयाँ सरकार कसरी गठन हुन्छ होलाभन्ने आमचासो र चर्चाको विषय बनेको छ। संसदबाट विश्वासको मत पाउन नसके मुख्यमन्त्री कार्की पदमुक्त हुने छन्। एमाले नेतृत्वको सरकार ढल्यो भने कोसीमा नयाँ सरकार गठनको गृहकार्य सुरु हुने छ। 

गठबन्धनबाट पनि नयाँ सरकारको नेतृत्व कसले गर्नेभन्ने टुंगो लागिसकेको छैन। यद्यपि, गठबन्धनले पनि सरकार गठनका लागि बहुमत पुर्‍याउन सक्ने अवस्था देखिँदैन। सभामुखले मत दिन पाउने अवस्था आउँदा मात्रै बहुमत पुग्छ। 

एमाले कोसी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले सरकारका लागि संसदमा विश्वासको मत माग्ने र मत दिन कांग्रेसलगायतका दलसँग अनुरोध गर्ने निर्णय गरेको छ। प्रदेशको औचित्य बचाएर राख्न र प्रदेशलाई स्थापित गर्नका लागि सबै दल एकजुट हुनुपर्नेमा एमाले अडिग छ। हालसम्मको परिस्थिति हेर्दा विपक्षी दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने अवस्था भने बनिसकेको छैन। 

गठबन्धनमा आवद्ध दल आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउनेमा केन्द्रित छन्। संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि गत जेठ ३१ गते संसदको दोस्रो एवं बजेट अधिवेशन अन्त्य गरिएको थियो। अल्पमतमा परेको सरकारले जेठ ३२ गते आध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट ल्याएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.