हर्कको श्रम–शिविर
हामीले जानेनौ–सकेनौ भने जान्ने सक्नेलाई साथ दिनुपर्छ। जुनसुकै पार्टी, जाति र विचारका हुन् पूर्वाग्रह राख्नु हुँदैन।
पार्टी, विचार र सिद्धान्तले धरानका मेयर हर्क साम्पाङ र म बिल्कुल अलग। तर उनको चरित्र, चिन्तन र रूपान्तरण अभियानको सहयात्री। आफ्ना छोराछोरीहरू विदेश लखेटेर विदेशीले दिएको पैसाले अन्न किनेर खानुभन्दा यहीँ आफ्नै हातले उब्जनी गर्नुपर्छ, यहीँ माटोमा आफैंले हात नलगाएसम्म देश बन्दैन भन्ने उनको राष्ट्रवादी विचारमा शतप्रतिशत सहमत। हामी लोकतान्त्रिक पार्टीहरूले थुप्रै कार्यकर्ता बनायौं, लाठीमुंग्रा चलाउनेदेखि गोली चलाउने होनहार क्रान्तिकारी योद्धाहरूको निर्माण गर्र्यौं। नेताहरूको हितको लागि एउटालाई खुइल्याउने, अर्कोलाई उचाल्ने पछार्ने, छिर्कानी हाल्ने, त्यस्तैगरी बोल्ने लेख्ने थुप्रै विद्वानहरू पनि जन्मायौं। तर इमान्दार भएर आफ्नो माटोमा पसिना बगाउने, आफ्नै बारीबगैंचा स्याहार्ने र उत्पादन गर्ने उद्यमशील शक्ति निर्माण गर्नै सकेनौं।
अझ सफा लुगा लगाएर पढ्ने, गाडीघोडा चढ्ने, कुर्सीमा बसेर कलम चलाउने अथवा पुरेत्याइँ र भाषण मात्र गर्नुलाई इज्जतिलो ठान्छौं। अनि हिलोमैलो र धुस्रेफुस्रे भएर काम गर्दा लाज मान्छौं। हामीलाई गुरुहरूले यही सिकाएका छन्। ती सिकाउने गुरुहरूसमेत श्रम नजान्ने–नगर्ने वर्ग–समुदायका थिए। परिणामतः आज नेपाली भएर आफ्नै देशमा श्रम गर्न घृण मान्दछ अनि अर्काको देशमा पुगेर जुठाभाँडा उठाउँदा गर्व गर्छ। ऊ अरब बनाउन तयार छ, कोरिया बनाउन जानेको छ तर आफ्नै देश, आफ्नै गाउँ बनाउन वा आफ्नै खेतबारीमा अन्न उब्जाउन जाँगर चलाउदैन। साम्पाङजीले आफ्नै माटोमा श्रम गर्नुपर्ने र अनिवार्य श्रमशिक्षा लिनुपर्ने अभियानको आरम्भ गर्नु भएको छ। त्यसमा ऐक्यबद्धता जनाउनका लागि पहिलेदेखि धरान जाने मेरो इच्छा यसपालि पूरा भयो।
धेरै वडाध्यक्षदेखि गाउँपालिका अध्यक्ष र मेयरको नेमप्लेट पित्तलका झुन्ड्याएका छन् र खर्चिलो गरी बनाइएका हुन्छन्। तर साम्पाङको कोठा अगाडि अति साधारण र चिटिक्कको नेमप्लेट रहेछ– ‘हर्कराज राई, नगरप्रमुख।’ त्यसले पनि उनको परिचय अलग दिन्थ्यो। मेयरका पीएको सूचनाअनुसार कोकाहा खोलामा पाइप तान्ने श्रम–शिविर चलिरहेको थियो। कोकाहा खानेपानीमा पाइप तान्न चैं निकै ठूलो भीड जाँदो रहेछ। उनीहरूसँग मिसिन तरहराबाट हतारहतार पुग्दा मेयरको टिम छुटिसकेछ। ढिलो भएकोमा थक्थक् लाग्यो। तैपनि मेयरसँग फोटो खिचेरै फर्कन्छु भनेर पर्खंदा उहाँका सचिवालयका एकजनाले मलाई सर्दु खोलापारि बन्न लागिरहेको धराने माया साबुन फ्याक्ट्रीमा जाने सुझाव दिए। तदनुरूप साढे एघार बजे म त्यहाँको श्रमशिविर पुगें।
तारबारले घेरिएको बगर किनारामा ढुंगाका थुप्राहरूका बीचमा थुप्रै दाजुभाइ दिदीबहिनीहरू गिटी कुटिरहेका थिए। दैनिक औसत ३० जनाले श्रम गर्दा रहेछन्। म गएको दिन प्रचण्ड गर्मीसमेत भएर होला १९ जना मात्र भयौं। म पनि श्रमदान गर्न आएको भनेपछि उहाँहरूले ठाउँ दिनुभयो र कुट्ने तरिकासमेत सिकाउनुभयो। साह्रै हँसिला दिदीबहिनीहरू रसिला कुरा गर्ने, रैथाने भाषा–संस्कृति। एकै क्षणमा हामी परिवारको सदस्यझैं घुलमिल भइहाल्यौं। ७० वर्षका बूढादेखि २० वर्षका अल्लारे तन्नेरीसम्मका, हामी। सबै जातजाति र वर्ग–समुदायका, पुरुषभन्दा बढी महिलाहरू नै क्रियाशील। उहाँहरू हप्तामा दुई÷तीन दिन आएर श्रमदान गर्नु हुँदोरहेछ। कसैले श्रमदाताहरूलाई आफ्नै घरबाट चियाखाजा उपलब्ध गराउँदा रहेछन्। त्यसदिन भने वीणा राई र लक्ष्मी राईले ल्याइदिनु भएको खाजा बहिनी शशीकला राईले वितरण गर्नुभयो। उहाँहरूसँगै रमाइलो र ठट्यौली कुरा गर्दै हम्मरले ढुंगा फुटाउँदै चार घण्टा बितेको यादै भएन। हातखुट्टा धोइपखाली गर्दा हातभरि निकै बाक्ला पानीफोका र ढुंगाबाट उछिट्टिएका चोइटाहरूले खुट्टाभरि रगताम्मे चोटहरू बनाइसकेका रहेछन्।
नेताहरूको हितको लागि एउटालाई खुइल्याउने, अर्कोलाई उचाल्ने पछार्ने, छिर्कानी हाल्ने, त्यस्तैगरी बोल्ने लेख्ने थुप्रै विद्वानहरू जन्मायौं। तर आफ्नो माटोमा पसिना बगाउने, आफ्नै बारीबगैंचा स्याहार्ने र उत्पादन गर्ने उद्यमशील शत्तिाm निर्माण गर्नै सकेनौं।
साढे ३ बजे श्रमदान समय सकियो। सबैजना बिदा भयौं। ३ बजे हर्क साम्पाङलाई भेट्ने समय दिइएको हुनाले अलि हतारिएर आएँ। बाटोमा स्थानीयवासी केहीसँग साम्पाङको चरित्र, काम र उपलब्धिका बारेमा सोधीखोजी गरेँ। ‘यहाँ पहिलो समस्या खानेपानीको थियो, अब हल भइसक्यो। सुकुम्बासी समस्या छ, लालपुर्जा पनि दिने भनेको छ। अर्कोकुरा रोजगारीको समस्या हो– २÷४ वटा उद्योग खोल्न सकियो भने त्यो पनि हल होला। त्यो पनि गर्न खोज्दैछ, तर विरोधीहरूले गर्नै दिएको छैन।’ भेटे जति सबैले उनको पक्षमा सकारात्मक जवाफ नै दिए। त्यसमध्ये एकजना सफारी चालकले मात्र असन्तुष्टि जनाए– ‘पहिले खुब केही गर्छु भनेर तम्सेको थियो, अहिले त थाक्यो क्यारे।’ मैले मेयरको कामप्रति वडाध्यक्षहरूले किन विरोध गरेको, उजुरी हालेको ? भनेर केहीलाई सोध्दा सबैको उस्तै जवाफ थियो– ‘मेयरले वडाध्यक्षले मागेअनुसारको विकास बजेट छुट्ट्याएकै छ। तर उनीहरू त्यसलाई ठेक्कापट्टामार्फत गर्न चाहन्छन्। त्यसो गर्यो भने कमिसन पाइन्छ। चुनावमा भएको खर्च कमिसनबाट असुलउपर गर्ने दाउमा छन्, जुन गर्न मेयरले मान्नु भएको छैन। यही हो– विवादको जरो।’
मेयरको कार्यकक्षको ढोकामा कडा प्रतिबद्धता लेखिएको थियो– ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि कसैलाई दिन्नँ।’ सायद राजनीतिक पार्टीबाट गएका भ्रष्ट चरित्रका जनप्रतिनिधिहरू त्यही बोर्ड देखेपछि भाउन्न हुँदा रहेछन् क्यार। तब उनीहरू भित्र पस्नासाथ मेयरसँग पाखुरा सुर्कासुर्की गरिहाल्छन्।
हर्क साम्पाङ धेरै बेथिति र चुनौतीहरूसँग लड्दै आउनु भएको हो। उनीसँग डर हैन, कामप्रति प्रतिबद्धता छ। पार्टी वा राजनीतिक दबाब पनि छैन। उनको अडान, चिन्तन र कामप्रति करिब ९० प्रतिशत जनताको साथ छ। अझ भन्ने हो भने कांग्रेस, माओवादी र एमालेकै साथीहरूसमेत आफ्नो पार्टीभन्दा साम्पाङको कामको सगर्व तारिफ गर्छन्।
सहकारी श्रम हाम्रो पुरानो संस्कृति हो। हाम्रो समाजवादको बाटोसमेत सहकारी श्रम, साझा उद्यम र उत्पादन एवं नियन्त्रण नै हो। जुन हामी कुरा मात्र गर्छौ, काम गर्दैनौँ। पुँजीवादी समाजमा एकल उत्पादन, एकल नाफा र नियन्त्रण हुन्छ। पुँजी लगानीको संस्कृति विकास नभइसकेको देशमा समाज निर्माणको आधार पनि सहकारी श्रम नै हो, जहाँबाट हाम्रा भावना अन्तर्घुलित हुन्छ र त्यो भावनाले साझा संस्कृति र राष्ट्रियताको निर्माण गर्दछ। मेअर हर्क साम्पाङले यो आरम्भ गर्नुभएको छ।
राष्ट्रियताको हितमा काम गर्नेहरू जुनसुकै पार्टी, जाति र विचारका हुन् हामीले पूर्वाग्रह राख्न हुँदैन। अझ हामीले जानेनौ–सकेनौ भने जान्ने सक्नेलाई साथ दिनुपर्छ। यो चिन्तनको विकास नभएसम्म राम्रो काम र राम्रा मान्छेहरू जन्मन–हुर्कन सक्दैनन्। तर हामी कार्यकर्ताहरूलाई विपक्षी नेता, पार्टीहरूले जतिसुकै राम्रो काम गरुन् तिनको विरोधै गर्न र आफ्ना नेताहरू जतिसुकै बदमास, ठग, भ्रष्ट भए पनि तिनको जय गाउन सिकाइएको छ, हामीलाई उसको देवत्वकरण गर्नैपर्ने संस्कारमा हुर्काइएको छ।
मेयर साम्पाङ कार्यालय समय सकिनासाथ बुद्धचोकको ग्रिन–टी अर्थात् उनको जनसम्पर्क कार्यालयमा पुगिसक्दा रहेछन्। बिहानसमेत ७ बजेदेखि नै श्रमदाताहरूसँग ग्रिन–टीमा हुन्छन् भने ८ बजेसम्म त श्रमशिविरतर्फ रमाना भइसकेका हुँदा रहेछन्। ५ बजे उनको जनसम्पर्क कार्यालयमा पुगें। उनलाई भेट्न कुनै रोकतोक थिएन, न कुनै एपोइन्मेन्ट। गाउँघरमा लाउने साधारण पोसाकमा घरपछाडि केही ठिटाहरूसँग थिए, उनी। उनको मप्रतिको पहिलो नजर चैं अलि शंकालु नै थियोः मेरो अभिवादन फर्काएर ‘भन्नुस् त’ भन्दै केहीबेर सुनिरहे। सँगैका साथीहरूले उनको प्रशंसा गर्दा उनी रत्ति खुशी नभई निदाएको जस्तो गरिरहे। तर जब साथीहरूले माओत्सेतुङ, सी– जिङपिङ होचिमिह्नसँग उनको तुलना गर्दै अहिलेका नेताहरूभन्दा राजा ज्ञानेन्द्र ठीक हुन् भन्नेमा पुगेँ, एकैचोटी उनी हाँसे– ‘हैट् कामरेडहरू त, राजा पो ठीक भन्नेमा आइपुगे है, हाहा !’
एउटा कुरामा उनी सहमत भए– ‘यो देशमा कम्युनिजम्को नाममा बाहुननिजम् हावी भयो र त्यही बाहुनिजम्ले देशलाई खायो।’ मैले उनलाई थप केही सुझाव दिएँ– ‘धराने मायासहित धराने कालो बंगुरको मासु बेचेर विदेशसम्म सप्लाई गरौं र धरानमा निर्माण हुने भोजपुरे सिरुपाते खुकुरीलाई प्रत्येक नेपालीको घरमा अनिवार्य बनाऔं, विदेशमा समेत निर्यात गरौं। तपाईंले यो अभियानको नेतृत्व गर्दा धरानलाई मात्र होइन सिंगो मुलुकलाई विश्वबजारमा पुर्याइ हामी राम्रो अर्थतन्त्रसमेत आर्जन गर्नसक्छौं’ भन्दा उनले अलि कान ठाडो पारेर ‘सकिन्छ’ भनेर जवाफ दिए। त्यसपछि ‘तपाईंजस्तो नेताहरूसँग के धेरै कुरा गर्नु, मैले बुझें, तपाईंले पनि बुझ्नुभयो’ भन्दै भर्खर ओछ्यानबाट ब्युँझिएको जस्तो गरी ट्वाइलेट अगाडि रहेको प्लास्टिक डेक्चीको पानी मुखमा छ्याप्दै पत्रकार सम्मेलनतिर लागे। म पनि अर्गानिक ग्रिन–टीसँगै उनको अर्गानिक विचार र चरित्र ग्रहण गर्दै धरानबाट बिदा भएँ। जनताको हितमा निडर भएर अगाडि बढ्नोस् साम्पाङजी ।