गौशाला र सोनमाको बजेट असार १५ मा
महोत्तरी : जनप्रतिनिधिबीचको विवादको कारण गौशाला नगरपालिकाको एक सयमा दुई अंक कटौती भएको छ। लामो समयदेखि नगरपालिकामा देखा परेको मेयर र उपमेयरबीचको विवाद साम्य हुन नसक्दा गौशाला नगरपालिकाको अंक दुईले घटेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसीले बताएका छन्।
तोकिएको समयभन्दा पाँच दिन पछाडि अर्थात् असार १५ गते ल्याउन लागेको बजेटमा संघीय सरकारको अनुदानबापत पाउने रकममा दुई प्रतिशत रकम कटौती हुनसक्ने सोमबार अन्नपूर्ण पोस्ट्सँग कुराकानीको क्रममा प्रमुख प्रशासकीय अधिकृत केसीले बताए।
उनले भने, ‘यहाँका जनप्रतिनिधिबीचको विवादले असारको सातामा बोलाएको बैठकमा उहाँहरूबीच सहमति जुट्न सकेन। जनप्रतिनिधिले पछिल्लो पटक भएको कार्य सम्पादनको समीक्षा र मूल्यांकन नभएसम्म नगर अधिवेशन हुन नदिने अडान लिएपछि अधिवेशन पूर्व गरिने तीनवटा बैठक प्रभावित भयो। जसले गर्दा गौशाला नगरपालिकाले तोकिएको मिति असार १० मा बजेट योजना तर्जुमाको काम काम अगाडि बढाउन सकेका थिएनन्।
यता सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वर यादवका अनुसार चरम राजनीतिक खिचातानीका कारण यस पटकको बजेट ल्याउन ढिला भएको छ। उनले भने, ‘कार्यालयमा यसअघि आएका प्रमुख प्रशासकीय अधिकृत यहाँका राजनीतिक बेथितिलाई सामना गर्न नसकेपछि सरुवा भएर गएपछि तोकिएको समयमा काम पूरा भएको थिएन।
फलस्वरूप गाउँपालिकाले असार १० भित्र बजेट ल्याउन सकेनन्। १५ गतेसम्म बजेट ल्याउनका लागि कर्मचारी र जनप्रतिनिधि अहिले व्यस्त रहेका छन्। उनीहरू गृहकार्यमा जुटिसकेका छन्। पालिका जनमैत्री बजेट ल्याउनमा सक्षम रहनेछ।’