प्रदेशसभामा बोल्न जसपाले गर्यो अस्वीकार
विराटनगर : जनता समाजवादी पार्टी (जसपा)ले कोसी प्रदेशको प्रदेशसभा बैठकमा बोल्न अस्वीकार गरेको छ।
प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा जसपाले बोल्न अस्वीकार गरेको हो। यद्यपि जसपाकी प्रदेशसभा सदस्य निर्मला लिम्बु बैठकमा उपस्थित छिन्।
कोसीको ९३ सदस्यीय प्रदेशसभामा पार्टीका तर्फबाट उनी एक्ली प्रदेशसभा सदस्य हुन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि सभामुख बाबुराम गौतमले जसपाको तर्फबाट सो दलको नेता लिम्बुलाई बोल्ने समय दिएका थिए। तर उनले बोल्न मानिनन्।
उनले बोल्न नमानेपछि सभामुख गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता राजेन्द्र राईलाई बोल्ने समय दिए। जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा पनि मतदान नगर्ने भन्दै तटस्थ बस्ने निर्णय गरेको थियो।