वन समूहका अध्यक्षले किर्ते गरेर झिके ८ लाख ६५ हजार
सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ मा रहेको हिमाल सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष केदार बहादुर मुक्तानले किर्ते गरेर लाखौं रुपैयाँ झिकेका छन्।
अध्यक्ष मुक्तानले पदको दुरुपयोग गर्दै किर्ते माइन्युट बनाएर समूहको खाताबाट ८ लाख ६५ हजार रुपैयाँ झिकेर अपचलन गरेको पाइएको हो।
उनले गत जेठ १७ गते समूहको कार्यसमितिको किर्ते बैठक गरी सचिव र कोषाध्यक्षको समेत किर्ते हस्ताक्षर गरी जेठ १९ गते उक्त रकम झिकेका हुन्। उक्त समूहका सचिव बुद्धिमाया योन्जन हुन भने कोषाध्यक्ष शेरबहादुर आले हुन्।
अध्यक्ष मुक्तानले आफूहरूको समेत किर्तेगरी विभिन्न शीर्षकमा एक मुष्ठमा ८ लाख ६५ हजार रुपैयाँ झिकेर अपचलन गरेको पाइएको समूहका कोषाध्यक्ष शेरबहादुर आलले बताए।
अध्यक्ष मुक्तानले राष्ट्रिय वाणिज्य बैंक कपिलाकोट शाखामा रहेको समूहको खाता नम्बर १५३०१००००७१५००१ बाट चेक नम्बर ००५९१२७७४८ बाट ८ लाख ६५ हजार रुपैयाँ किर्तेगरेर झिकेको भन्दै सचिव योञ्जन र कोषाध्यक्ष आलेले यही असार ८ गते जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी समेत दिएका छन्।
उजुरीमा समूहका अध्यक्षले किर्ते गरी रकम झिकेर चलाएको पाइएकोले छानविन गरी हदैसम्मको कारबाहीको माग गरिएको छ।
उजुरी अनुसार अध्यक्ष मुक्तानले अग्नी रेखा बनाउन १ लाख, वन डढेलो नियन्त्रण गर्न १ लाख २० हजार, समूहको नवीकरण शुल्क भुक्तानी गर्न १ लाख ५० हजार, पाङ्ग्रेखोला सडकसहित दुई वटा सडक निर्माण गरेवापत ४ लाख ९५ हजार रुपैयाँ भुक्तानी दिन भनि किर्ते माइन्युट बनाई रकम झिकेको हुन्।
उता यस विषयमा बुझ्दा अध्यक्ष मुक्तानले आफूले गल्ती गरेको स्विकार गरेका छन्। ‘समूहमा काम गरेको रकम भुक्तानी गर्नु पर्ने थियो। एक वर्षदेखि भुक्तानी रोकिएको थियो। कोषाध्यक्ष पोखरा गएपछि मैले रकम भुक्तानी दिन किर्ते गरेको हुँ,’ उनले भने। उनले आफूले गर्न नहुने काम गरेपछि सबै आफैले जिम्मा लिने र झिकेको रकम फिर्ता गर्ने समेत बताए।
उनले भने, ‘सचिव र कोषाध्यक्ष दुवै अनपढ जस्तै छन्। मैले गल्ती गरेकै हो। अब मिलरे घटना मिलाउ भनेको छु। झिकेको पैसा मैले नै मासेको हो। अहिले ३ लाख रुपैयाँ खोजेर समूहको खातामा जम्मा गरिदिएको छु। अब बाँकी ५ लाख ६५ हजार जम्मा गर्न बाँकी छ त्यो पनि म जम्मा गरिदिन्छु।’
प्रहरीले भने दुवै पक्ष मिलेर आउन आग्रह गरेको छ।