कांग्रेससँग नयाँ सरकार बनाउने विषयमा कुरा भएको छैन : ओली
चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन्। भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताए।
'कांग्रेससँग मैले प्रस्ताव गरेको छैन। कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन। तपाईं (पत्रकार)मार्फत् जानकारी पाइरहेका छौं,' उनले भने। पार्टीका दोस्रो तहका नेतामार्फत् कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताए। उनले भने, 'आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको हो।'
यस विषयमा संसद् र सञ्चारमाध्यममा केही दिन चर्चा भएको भन्दै उनले थपे, 'एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको छ। अलिक दिन त्यसले पनि मार्केट पायो।' केही दिनपछि ११ किलो सुन कहाँ गयो? भन्ने प्रश्न आएको भन्दै उनले प्रतिप्रश्न गरे, 'यो मेरो विषय हो र तपाईंहरूले मलाई सोधेको?'