नहोस् नागरिकको स्वास्थ्यमा खेलवाड
प्रायः सबै सुर्तीजन्य पदार्थ सेवनकर्तालाई सुर्तीजन्य पदार्थ सेवन स्वास्थ्यका लागि हानिकारक हो भन्ने जानकारी छ। तर, यसको प्रयोग गर्नेहरूको संख्या बर्सेनि बढ्दो छ। विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्यांकअनुसार विश्वमा २२.३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्। विश्व स्वास्थ्य संगठनद्वारा गरिएको नसर्ने रोगको सर्वेक्षणअनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा मात्र सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ।
तर, यसको प्रयोगमा न्यूनीकरण गराउन सकेको छैन। नेपालले सन् २००३ मा सुर्तीजन्य पदार्थ रोकथामको अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेपछि सन् २००६ मा नेपालले उक्त महासन्धि अनुमोदन भयो। सोको जानकारी दिँदै त्यसकै आधारमा सन् २०११ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा निर्देशिका जारी गरेको थियो। यो ऐनले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न र बिक्री वितरण गर्न रोक लगाएको छ। सार्वजनिक स्थलबाट कम्तीमा सय मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा पूर्ण रोक लगाएको हो। विडम्बना, सार्वजनिक स्थलमा पनि अस्पताल र विद्यालय वरिपरिसमेत सुर्तीजन्य पदार्थको खुल्लमखुल्ला बिक्री वितरण भइरहेको छ। ऐनले भनेको भन्दा ठीक उल्टो काम भइरहेको छ। सुर्तीजन्य वस्तुको उत्पादन र बेचबिखनमा कानुनी रूपमै प्रतिबन्ध हुँदा पनि त्यसको पालनामा सरकार चुक्नु दुःखद् कुरा हो।
दक्षिण एसियामै भुटानमात्र सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने पहिलो मुलुक हो। यसबाट पनि पाठ सिक्नुपर्छ। सरकारले यसलाई राजस्व संकलन र आम्दानीको मात्र माध्यमको रूपमा सोच्दा बर्सेनि हजारौं नागरिकले ज्यान गुमाउन बाध्य छन्। यसको नियमन र न्यूनीकरणको एकमात्र उपाय भनेको जनचेतना र ऐनको पूर्ण कार्यान्वयन नै हो। नेपालले धूमपान विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरेको छ। सुर्ती विज्ञापन, प्रवद्र्धन र प्रायोजनका सबै कार्यलाई निषेध गर्ने, सर्वसाधारणलाई सुर्तीजन्य उत्पादन किन्न उक्साउने प्रत्यक्ष वा अप्रत्यक्ष आकर्षणहरूमा रोकथाम गर्ने व्यवस्था महासन्धिमा छ। सरकारले नियमन गर्न नसक्दा सुर्तीजन्य पदार्थको विज्ञापनसमेत पर्याप्त मात्रामा छ। बजार अनुगमन र नियमनको पाटोमा जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय र सम्बन्धित सरोकारवालाले स्थानीय स्तरबाटै काम नगर्ने हो भने सुर्तीजन्य पदार्थको सञ्जालले समाज घेरिनेमात्र होइन, रोग र मृत्युले पनि घेरिनेछ।