कोशी प्रदेश : मुख्यमन्त्री कार्कीको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन
विराटनगर : कोशी प्रदेशसभा बैठक केहीबेरमा बस्दैछ। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुनेछ।
बिहीबार मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा दलका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए। त्यसपछि सभामुख बाबुराम गौतमले साँझ ५ :२० बजेबाट बैठक स्थगित गरेका थिए।
अर्को सूचना जारी गरेर राति ८ बजेसम्मका लागि स्थगित गरियो। सभामुखले बैठक बस्न सकेन। मुख्यमन्त्रीले विश्वासको मत मागेपनि मतदान हुन सकेन।
सभामुखले बैठक स्थगित गरेपछि प्रदेशसभाबाट बाहिरिएका मुख्यमन्त्री र मन्त्री फर्किएनन्। त्यसपछि दलका नेताहरू सचेतकसहितको छलफल राखेर सभामुख प्रदेशसभा बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गर्ने निर्णयमा पुगेका थिए।
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्ष र विपक्षमा दलहरू विभाजित भएका छन्। सदनसमक्ष विश्वासको मत माग्दै कार्कीले बिहीबार प्रस्ताव पेस गरेपछि दलहरू विभाजति भएका हुन्।
सत्तारुढ दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी विश्वासको मतका पक्षमा उभिएका छन्। प्रतिपक्षी गठबन्धनमा रहेका प्रतिपक्षी दलहरू नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी विश्वासको मतको विपक्षमा देखिएका छन्।
विपक्ष गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) भने तटस्थ भूमिकामा रहेको छ। ९३ सदस्यीय प्रदेशसभामा जसपाबाट एक्ली सांसद प्रदेशसभा सदस्य निर्मला लिम्बू छिन्। गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्की नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री बनेकी थिइन्। जेठ २७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लिम्बूको मन्त्री पद गुमेको थियो।
माओवादीले सरकारलाई दिएको समर्थन जेठ २३ गते फिर्ता लिएको थियो। सत्तारुढ दल माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। विश्वासको मत प्रयोजनका लागि बिहीबार प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक बसेको थियो।
प्रदेशसभामा सत्तारुढ एमालेका ४० र राप्रपाका ६ जना सांसद छन् । प्रतिपक्षी कांग्रेसका २९, माओवादीका (सभामुख) बाहेक १२, समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
दुवैतर्फ सांसद संख्या ४६–४६ छ । तर, जसपा तटस्थ बस्दा विपक्षीसँग ४५ मात्रै सांसद पुग्छ । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । मुख्यमन्त्री कार्कीले थप १ जना सांसदले साथ दिँदा बहुमत पुर्याउँछन् । सत्तारुढसँग समान मत भएका कारण नयाँ सरकार गठनमा निर्णायक मतका लागि प्रतिपक्षीले सभामुखलाई प्रयोग गर्ने रणनीति बनाएको थियो ।