कोशी प्रदेश : विश्वासको मतको प्रस्तावमाथि मत विभाजन सुरू
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मागेको विश्वासको मतमाथि विभाजन सुरू भएको छ। मत विभाजनका लागि सभामुखको आसनको दायाँ र बायाँ हस्ताक्षरका लागि टेबुलको व्यवस्था गरिएको छ।
बिहीबार प्रदेशसभामा पेश गरेको विश्वासको मतको प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि प्रदेशसभामा मत विभाजनको प्रक्रिया सुरू भएको छ।
प्रतिपक्षी गठबन्धनमा रहेका प्रतिपक्षी दलहरू नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी विश्वासको मतको विपक्षमा देखिएका छन्।
मुख्यमन्त्रीलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ रहेको छ। विपक्षी गठबन्धनमा रहेको जनता समाजवादी पार्टी ( जसपा) बैठकमा अनुपस्थित भएको छ।
प्रदेशसभामा सत्तारुढ एमालेका ४० र राप्रपाका ६ जना सांसद छन् । प्रतिपक्षी कांग्रेसका २९, माओवादीका (सभामुख) बाहेक १२, समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
दुवैतर्फ सांसद संख्या ४६–४६ छ । तर,जसपा तटस्थ बस्दा विपक्षीसँग ४५ मात्रै सांसद पुग्छ । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ ।
जसपा र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपरेको हो।