विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम
बेनी : म्याग्दीका दुईवटा स्थानीय तहमा ‘विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’ लागू भएको छ।
कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा बेनी नगरपालिका–६ को जामुनाखर्क र मालिका गाउँपालिका–४ को महभीरमा कार्यक्रम सञ्चालन भएको हो।
केन्द्रका प्रमुख किरण सिग्देलले विपन्न परिवारको व्यावसायिक कृषि र पशुपालन मार्फत आयआर्जनमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
‘कृषि र पशुपालन मार्फत विपन्न समुदायको आयआर्जनमा सुधार ल्याउने कार्यक्रमको उद्देश्य हो,’ उनले भने ‘चालू आर्थिक वर्ष २०७९/०८० मा २०/२० लाख बजेट विनियोजन भएको कार्यक्रम कृषक समूह मार्फत कार्यान्वयन गरिएको छ।’
जामुनाखर्क र महभीर कृषि तथा आयआर्जन समूहले कार्यक्रम कार्यान्वयन गरेका हुन्। जिल्ला स्तरमा सरोकारवालाहरूको बैठकले प्रदेशसभाको दुई वटा निर्वाचन क्षेत्रका एक/एक वटा विपन्न बस्ती छनौट गरेर कार्यक्रम कार्यान्वयनका लागि सिफारिस गरेको थियो। दुई वटा समूहमा ७० घरपरिवारआवद्ध भएका छन्।
कार्यक्रम मार्फत कृषकलाई ९० प्रतिशत अनुदानमा बाख्रा/बोका वितरण, मौरीपालन, कुखुरा, खोर निर्माण र भकारो सुधार गर्न सहयोग गरिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव बाँस्तोलाले बताए।
कार्यक्रम मार्फत जामुनाखर्कमा ३६ जना कृषकलाई १०० वटा बाख्रा र ३ वटा बोका वितरण गरिएको छ। समूहका अध्यक्ष टेकबहादुर बिकले ६ जनालाई तरकारी खेती, ८ जनालाई भकारो सुधार र १६ जनालाई बाख्राको खोर निर्माणमा अनुदान दिइएको बताए।
‘खोर नभएकालाई खोर बनाउन र बढीमा दुई वटा पाठापाठी, खोर भएकालाई तीन वटाका दरले बाख्रा वितरण गरिएको हो,’ उनले भने ‘उन्नत बोयर र जमुनापारी क्रस बोका भने सामूहिक हिसाबले उपलब्ध गराइएको हो।’
महभीर कृषक समूह मार्फत बाख्रा, मौरी र कुखुरापालन व्यवसाय सञ्चालन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। कृषकको मागका आधारमा विभिन्न शीर्षकमा अनुदान दिइएको हो।