कर्णालीमा मनाइयो धान दिवस : पूर्व मुख्यमन्त्री शाहीले किसानहरूसँगै धान रोपे
वीरेन्द्रनगर : कर्णालीका १० वटै जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी आज धान दिवस मनाइएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा किसान महासंघले आयोजना गरेको धान दिवसका अवसरमा रोपाइँ खेतमै पुगेर नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले किसानहरूसँगै धान रोपे।
रोपाइँ ड्रेसमा धान रोप्दै कर्णालीमा कृषि क्षेत्रको विकास बिना आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए। कर्णालीको प्रमुख पेशा कृषि भएकाले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउनुपर्ने बताए।
उनले कर्णाली अन्न भण्डार भएपनि धान उत्पादन पर्याप्त नहुँदा भातमारीको समस्या रहेको बताए। 'कर्णालीमा भोकमरी भनेर गलत प्रचार गरिन्छ। यहाँ भोकमरी हैन। धान उत्पादन कम हुने भएकाले भात खानका लागि चामल खरिद गर्नु परेको हो', उनले भने।
अब यहाँको धान खेती हुने सबै जमिनमा पर्याप्त धान खेती गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए।
यस्तै कृषि मन्त्रालयले आयोजना गरेको धान दिवसमै सहभागी बनेकी प्रदेश सरकारकी जलश्रोत तथा ऊर्जा विकास मन्त्रालयका मन्त्री उर्मिला विश्वकर्माले असारमा मानु छरेर मुरी उत्पादन गर्ने समय भएकाले सबैले खेतीपातीमा सक्रिय हुन आग्रह गरिन्।
कर्णाली प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, दैलेख, जाजरकोट, रुकुम, सल्यान, जाजरकोटमा पनि कृषि विकास कार्यालयको आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरी धान दिवस मनाइएको छ।
दिवसका अवसरमा किसानसँगै खेतमा हिलो खेल्ने र कृषि खेतीप्रति उत्साह थप्न धान दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको कृषि विकास कार्यालय कालिकोटका प्रमुख बालाराम देवकोटाले बताए।
कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ सकियो
कर्णालीमा असारको दोस्रो सातासम्म ३९ प्रतिशत रोपाइँ सकिएको छ। गएका वर्षहरूमा असार दोस्रो सातासम्म ७० प्रतिशत रोपाइँ गरिने कर्णालीमा यस वर्ष समयमै वर्षा नहुँदा खडेरीका कारण रोपाइँ ढिलो भएको हो।
कृषि विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी तिलक पाण्डेका अनुसार कर्णालीमा असार दोस्रो सातासम्म ३९ दशमलव २५ प्रतिशत रोपाइँ सकिएको छ।
उनका अनुसार जिल्ला अनुसार सुर्खेतमा १५ हजार २ सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म ७ सय ६२ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। जो कुल धान खेती हुने जमिनको ५ प्रतिशत मात्र हो। बाँकी ९५ प्रतिशत खेतमा धान रोपाइँ हुन बाँकी छ।
यस्तै दैलेखमा कुल धान खेती हुने जमिन ८ हजार ५ सय १२ हेक्टर मध्य हालसम्म ६ सय २७ हेक्टरमा रोपाइँ सकिएको छ।
यस्तै जाजरकोटमा धान खेती हुने जम्मा ३ हजार ६५ हेक्टर जमिनमा ६ सय १३ हेक्टर जमिनमा धान खेती सकिएको छ। सल्यानमा कुल ७ हजार ७२ हेक्टरमा धान खेती हुँदै आएकोमा हालसम्म २ हजार ४ सय ७५ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ।
हिमाली जिल्ला डोल्पामा जम्मा २ सय ७६ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म २ सय ७ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। यस्तै मुगुमा कुल ९ सय २१ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ३ सय ६८ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ।
जुम्लामा २ हजार ९ सय ५० हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म २ हजार ५ सय ७ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। यस्तै कालिकोटमा जम्मा ३ हजार १९ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म १ हजार हेक्टर जमिनमा रोपाइँ सकिएको छ। यस्तै हुम्लामा १ हजार २ सय ८४ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ७ सय ३४ हेक्टर जमिनमा रोपाइँ सकिएको छ।
सुर्खेतमा ५, दैलेखमा ७, जाजरकोटमा २०, रुकुममा ३२, सल्यानमा ३५, हिमाली जिल्ला डोल्पामा ७५, हुम्लामा ५७, मुगुमा ४०, जुम्लामा ८५, कालिकोटमा ३६ प्रतिशत रोपाइँ सकिएको छ।
धानको उत्पादन वृद्धि हुँदा कूल ग्राहस्थ उत्पादनमा टेवा पुग्छ। तर हरेक वर्ष खडेरीका कारण धान उत्पादनमा ह्रास आइरहेको छ। धानको उत्पादन घट्दा आर्थिक स्थिति घट्छ। जसका कारण कर्णालीका हरेक जिल्लामा स्थानीय नागरिकहरू बजारको खाद्यान्न खरिद गर्न बाध्य छन्।