खण्डवृष्टि र लम्पी स्कीनको प्रकोपले रोपाइँ प्रभावित
ओखलढुंगाः रोपाइँको सिजन घर्किने बेला हुनै लाग्दा ओखलढुंगाका किसानले भने धान रोप्न पाएका छैनन्।
एकातिर खण्डवृष्टिले धेरै ठाउँमा पर्याप्त पानी परेको छैन भने अर्कातिर लम्पी स्किनको प्रकोप जिल्लाभर फैलिएको छ। रोपाइँमा जोत्न प्रयोग हुने किसानका गोरु थला परेका छन्।
यही कारण ओखलढुंगामा असार १५ बित्दा १९ प्रतिशत मात्रै रोपाइँ भएको छ। जिल्लामा चार हजार चार सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको थियो।
हालसम्म जिल्लाको सिद्धिचरण नगरपालिकामा १५ प्रतिशत, सुनकोशीमा १५, चम्पादेवी १८, लिखुमा २८ खिजीदेम्बामा ३०, मोलुङ २५, मानेभञ्ज्याङ र चिशंखुगढीमा पनि १५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।
नदी किनाराका खेतहरूमा मात्रै रोपाइँ भएको छ। आकाशे पानीमा निर्भर हुने पाखा खेतमा रोपाइँ सुरु नै भएको छैन।
गत वर्ष असार १५ सम्ममा जिल्लामा ३० प्रतिशत रोपाइँ भएको थियो। पर्याप्त वर्षा नभएका कारण रोपाइँ ढिलो भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ।
अर्कातिर गोठका गोरु बिरामी भएर थला परेका र कति मरेका कारण किसानले समयमा धान रोप्न नसक्ने अवस्था रहेको छ। हालसम्म जिल्लामा ६ हजार ७ सय ९४ गोरुगाई बिरामी भएका छन् भने २१ मरेका छन्।
धेरैजसो जोत्ने सिजनमा गोरु बिरामी भएका कारण किसानलाई समस्या भएको कृषि ज्ञान केन्द्रका टिका बानियाँले बताए। उनले एकातिर पानी पर्याप्त नहुने र अर्कातिर गोरु बिरामी भएर गाउँमा आलो पालो रोपाइँ चलाउनुपर्ने अवस्था रहेको जनाए।
अधिकांश किसानका गोरु बिरामी परेपछि एक हजार पाँच सयसम्म पाइने हली गोरु अहिले २ हजार ५ सयमा पनि पालो कुर्नु पर्ने अवस्था छ। सुगमका केही किसानले भने मिनी टिलर किनेर पनि रोपाइँ थालेका छन्।