बाघको छाला र हड्डीसहित पक्राउ
नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका-११ बाट बाघको छाला र हड्डीसहित पक्राउ परेका तीन जनालाई आज प्रहरीले जिल्ला वन कार्यालय बाँकेलाई बुझाएको छ।
उनीहरूलाई हिजो प्रहरीले कोहलपुर नगरपालिकामा जाँच गर्ने क्रममा पक्राउ गरेको थियो। पक्राउ पर्नेमा दैलेखको ठाटीकानडा गाउँपालिका-४ घर भएका सुनील चुनारा, सोही जिल्ला भगवती गाउँपालिका-५ का नवीनकुमार कसेर र अछामको पञ्चदेवल गाउँपालिका-२ का टोपेन्द्र शाही रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले बाघको छाला र हड्डीको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको थियो। जिल्ला वन कार्यालयले त्यसको अनुसन्धान भइरहेको जनाएको छ।