धान दिवसमा किसानले मागे मल
नुवाकोट : धान दिवसका अवसरमा नुवाकोटको गेर्खुटार, मदानपुर, तादी, पञ्चकन्या, ककनी लगायतका स्थानमा शुक्रबार धान महोत्सव गरिएको छ।
दिवसमा सहभागी किसानहरूले अतिथिसँग रासायनिक मल उपलब्ध गराइदिन माग गरे। कार्यक्रममा सहभागी अतिथिहरूले पनि पहल गर्ने आश्वासन दिए।
बेलकोटगढी नगरपालिका-१२ मदानपुरमा धान दिवस तथा रोपाइँ महोत्सवमा पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शेर्पाली ठकुरीले किसानहरूको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताइन्।
कृषिप्रधान देश नेपालमा किसानलाई समस्या परेको र यसको समाधान सबै पक्षको सहकार्यबाट गरिने उनको भनाइ छ। कृषिमा आधुनिक यन्त्र उपकरणको प्रयोग गरेर उत्पादन बढाई युवा पलायन हुने कार्य नियन्त्रण गरिनुपर्ने राज्यमन्त्री ठकुरीले बताइन्।
मदानपुर बासुकीफाँटमा भएको रोपाइँ महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो। बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामासहित किसानहरूले धान रोप्दै रमाइलो गरे।