मनमै अडिरहने यो ढुंखर्क
जंगलमा कुहु कुहु कराइरहेका कोइलीको मधुर नाद। एकनासले मन्द मन्द चलिरहेको प्रदूषणरहित हावा। एकैछिन पुग्नेलाई नि अड्याउँछ, काभ्रेको ढुंखर्कले।
कञ्चन पानी लिएर दौडिरहेको लड्कु खोला। नजिकै जंगलमा कुहु... कुहु... कराइरहेका कोइलीको मधुर नाद। परबाट आइरहेको पानीघट्टको आवाज, अनि एकनासले मन्द मन्द चलिरहेको प्रदूषणरहित हावा। एकैछिन पुगेर आउँछु भन्नेलाई पनि यस्तै वातावरणीय प्रभावले केही समय अड्याउँछ, काभ्रेको ढुंखर्कले। एकपटक पुग्नेलाई त धितै मर्दैन, फेरि फेरि पनि जाउँ जाउँ बनाइरहन्छ, यसले।
यो धार्मिक, ऐतिहासिक र पर्यटकीय रूपमा मात्रै चर्चित छैन, शान्त स्थानमा बसेर केही समय मन र दिमाग माझ्नेका लागि उपयुक्त क्षेत्र पनि हो, यो। काठमाडौंबाट वाक्क दिक्क भएर केही दिनका लागि मन बहलाउने र व्यस्त जीवनबाट शान्ति र आनन्द लिनेका लागि यो ठाउँ उपयुक्त छ। संघसंस्थाका कार्यक्रम राजधानी बाहिर गर्न चाहनेहरू पनि यहाँ आउँछन्। कार्यक्रम सकेर बेलुकाको ४-५ बजे निस्कँदा पनि काठमाडौं आइपुग्न कुनै कठिनाइ पर्दैन। लेखक, चित्रकार र अन्य क्षेत्रका व्यक्तिले पनि शान्त र आनन्दपूर्वक केही दिन बसेर काम गर्ने स्थानको रोजाइमा पर्न थालेको छ, ढुंखर्क।
काभे्र जिल्लाको पश्चिमी भेग बेथानचोक गाउँपालिकामा पर्ने प्राकृतिक रूपमा रमणीय ढुंखर्क सानो उपत्यका नै हो। वरिपरि महाभारत शृंखलाले घेरिएको ढुंखर्कको माथिल्लो भाग हरियो जंगलले ढाकेको छ। त्यसभन्दा तल खेतीयोग्य जमिन छ। सेतो रंगले पोतेका सुन्दर घरहरू पाखैभरि देख्दा कुनै पारखीले सझाए झैं लाग्छ। पहिलो पटक जाने पाहुना त पार्थली भन्ज्याङबाट एकछिन एकोहोरिएर हेर्न लालायित हुन्छन्। सुन्दर दृश्यले जो कोहीको पनि मन त तान्ने नै भयो।
हिउँद याममा खेतमा प्रायः आलु लगाइन्छ। खेतका गरागरामा लगाएको आलुको हरियाली र चिसोचिसो वातावरणले त्यहाँ पुग्नेलाई आनन्द दिन्छ। वर्षा याममा खेतमा रोपेको धानले कात्तिकभरि बाला झुलेर प्रकृति नै मनमोहक बनाउँछ। हिउँदमा लगाएको तोरी माघ–फागुनमा फुल्दा दुलही सिँगारिए झैं लाग्छ, यो ठाउँ। यहाँ उत्पादित बन्दा, काउली, स्कुस, रायोको सागजस्ता सागसब्जीका ग्राहक काठमाडौं उपत्यकाका बसोबासी हुन्। चिसो ठाउँका सागसब्जी स्वादिला हुने भएकाले एक पटक चाख्नेको जिब्रोमा ढुंखर्कको स्वाद बसिरहन्छ। यहाँको सागसब्जी उपत्यकामा माग निकै बढी छ। यहाँका घट्टमा पिँधेको मकैको पिठोको ढिंडो र रायोको सागको स्वाद विरलै अन्य ठाउँमा पाइन्छ। त्यसैले त अतिथिको रोजाइमा यही खाना पर्छ। यहाँ अझै पनि पानीघट्ट चलनचल्तीमा छन्। पानीघट्टमा पिँधेको पिठोको स्वादै फरक।
यहाँ दूधबाट खुवा बनाउने चलन छ। यहाँको दूध बनेपा, भक्तपुर, ललितपुर र काठमाडौंका सहरसम्म पु¥याइन्छ। काठमाडौंका चर्चित धेरैजसो मिठाई पसलमा यहाँको खुवा पुग्ने गर्छ। घुम्न र आफन्तकहाँ पुग्ने व्यक्तिले चाख्ने र ढुंखर्कको कोसेली ल्याउने भनेकै खुवा हो। गाई–भैंसीको शुद्ध दूधलाई दाउराको आगोमा तताएर बनाएको खुवाको स्वादै स्वादिलो। आफन्त र साथीभाइले ढुंखर्क जानेलाई भन्ने कुरा हो, ‘खुवा ल्याइदिन नभुल्नु है।’
मुक्तेश्वर महादेव, श्रीकृष्ण प्रणामी मन्दिर, वैष्णव मन्दिर, बुढा महांकाल (क्षेत्रपाल थानी महांकाल) ढुंखर्कका मुख्य धार्मिक स्थल हुन्। वागनेको गुफा पनि पर्यटकको आगमन र संरक्षणको पर्खाइमा छ। ढुंखर्कमा कतिपय व्यक्ति धार्मिक यात्राका रुपमा पुग्ने पनि भेटिन्छन्। काभ्रेको सबैभन्दा अग्लो ३०१८ मिटरमा अवस्थित धार्मिक र पर्यटकीय स्थल बेथानचोक नारायणस्थान पनि यहीँ पर्छ।
काठमाडौंदेखिका आन्तरिक पर्यटकको हिँउ खेल्ने, सूर्योदय र सूर्यास्तको दृश्य हेर्ने रोजाइको स्थानमा पर्छ, नारायणस्थान। यहाँबाट उत्तरतिर सगरमाथा, धौलागिरिलगायत गणेश हिमाल प्रस्ट देखिन्छन्, दक्षिणतिर पहाडका थुम्का हुँदै तराईका मनमोहक फाँटहरू। नेपालको राष्ट्रिय चरा डाँफे र राष्ट्रिय फूल लालीगुराँस पनि यसै क्षेत्रमा पाइन्छ। चैत–वैशाखमा थरीथरीका लालीगुराँस पाखैभरि फुलेर रंगीन बनाएको हुन्छ। त्यहाँ पुग्नेको मन र आँखालाई तानिरहन्छ, यसले। यस स्थानमा फागुपूर्णिमा, जनैपूर्णिमा र नयाँ वर्षको अवसरमा लाग्ने मेलाले स्थानीयदेखि वरपर गाउँका युवायुवतीलाई समेत डाक्ने गर्छ, जमघट गराउँछ, रमाइलो गर्ने अवसर दिन्छ।
ढुंखर्क नाम कसरी रहन पुग्यो होला ? भन्ने कौतुहल नाम सुन्ने र जिज्ञासा राख्नेलाई लाग्नु स्वाभाविकै हो। भनिन्छ, यसको नाम नेवारी भाषाबाट रहन गएको हो। पहिलापहिला भक्तपुरका नेवार व्यापारी यस क्षेत्रमा व्यापारको सिलसिलामा जाँदा बाघ गर्जेको आवाज सुनेछन्। नेवारीमा ‘धुँ’ भनेको बाघ, ‘खर्क’ भनेको बस्ने ठाउँ वा क्षेत्र, यसैबाट ढुंखर्क रहन गएको हो भन्ने चलन छ। हो पनि, ढुंखर्कका जंगलमा जीवजन्तु त्यत्तिकै पाइन्छन्। यहाँ बाघ, चितुवा, बँदेल, घोरलको बास भएकोले जंगलमा एक्लै हिँड्नु पर्दा डराउनै पर्छ। गत वर्ष महाभारतको जंगलमा दुर्लभ सेतो मृग भेटिएको थियो। त्यसलाई जावलाखेलको सदर चिडियाखानामा बुझाइयो।
ढुंखर्कमा विशेषगरी ब्राह्मण, क्षेत्री, तामाङ र नेवारको बसोबास छ। सबै जाति र धर्म सम्प्रदायबीच सहिष्णुताको उदाहरण हो, यो ठाउँ। यहाँका जातजातिका कला, संस्कृति, संस्कृति र संस्कारलाई पर्यटनसँग जोड्न सके पर्यटकलाई घुम्ने र आनन्द लिने स्थान त्यसैगरी स्थानीयलाई रोजगारी र आयआर्जनको स्रोत पक्कै बन्नेछ।
‘नाङ्गो गाउँ’ को छायांकन यसै स्थानमा गरिएको हो। धुर्मुस–सुन्तलीको ‘मै राम्री’ टेलिशृंखलाको छायांकन पनि यहीँ गरिँदैछ। भिडियो तथा डकुमेन्ट्री, साना ठूला पर्दाका चलचित्र एवं टेलिशृंखलामा यहाँको प्राकृतिक सुन्दरता कैद गर्ने प्रचलन बसिसकेको छ। यस क्षेत्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन गर्दै दीर्घकालीन पर्यटकीय क्षेत्रको विकासमा लाग्न सके स्थानीय युवालाई श्रमकै लागि बिदेसिनु पर्ने बाध्यता हुने छैन। यसले युवालाई स्वदेशमै बसेर सुखी र खुसी जीवन जिउने बाटो बनाइदिनेछ।
काठमाडौंबाट करिब ४५ किलोमिटर टाढाको यस सुन्दर गाउँमा राजधानीबाटै उपलब्ध हुने सार्वजनिक सवारीबाट करिब ३ घण्टाको सडक यात्रामा सजिलै पुग्न सकिन्छ। आफ्नै साधन हुनेहरू त दुई घण्टाभित्रै पुग्छन्। टे«किङ गरेर जंगलको आनन्द लिँदै जाने हो भने ललितपुरको गोदावरी, फुल्चोकी हुँदै ६÷७ घण्टामा पुगिन्छ। पर्यटक सुविधाका लागि यहाँ माउन्ट महाभारत, बेथानचोक गाउँ सामुदायिक, हिलटपजस्ता होमस्टे सञ्चालनमा छन्। होटल जाम्बला, ह्यापी होम, बेथानचोक अर्गानिक, होलिडे–इन्, नारायणस्थान अर्गानिक, जनादी अर्गानिक भिलेज रिसोट पनि पर्यटकलाई राम्रो सेवा दिन्छन्।
धार्मिक एवं पर्यटकीय महŒव बोकेको यस स्थानमा धार्मिक यात्रा गरेर आनन्द लिन अर्थात् गर्मीको समयमा शीतल वातावरणबाट मन बहलाउन वा हिउँदमा हिउँ खेलेर रमाइलो गर्न हामी पनि एकपटक ढुंखर्क पुग्ने कि ?