समयको बिम्ब अर्थात् सत्यमोहन

पाठकमाझ हालसालै पुगेको ‘शब्दबिम्बमा सत्यमोहन’ आफैंमा प्रतीकात्मक ग्रन्थ बनेको छ। र, बनेको छ यो संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रतिच्छायाँ पनि !

समयको बिम्ब अर्थात् सत्यमोहन

‘समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय !’ ‘शब्दबिम्बमा सत्यमोहन’ नामक ग्रन्थमा सम्पादक गोपीकृष्ण ढुंगानाले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीबारे निकालेको निष्कर्ष हो यो। यो निष्कर्षलाई पुष्टि गर्ने उनले थुप्रै आधार प्रमाणस्वरूप पस्किएका छन्। जुन निष्कर्षले सत्यमोहनलाई त न्याय गरेको छ नै, अझ नेपाली साहित्यमा थपिएको यो ग्रन्थले साहित्यकार, संस्कृतिप्रेमी, पाठक, अनुसन्धाता र सरोकारवाला सबैलाई समेत न्याय दिलाएको छ। हालै पाठकमाझ पुगेको ‘शब्दबिम्बमा सत्यमोहन’ आफैंमा प्रतीकात्मक ग्रन्थ बनेको छ। संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष (१९७७–२०७९) सत्यमोहनको प्रतिच्छायाँ पनि ! नेपाली मनमुटुमा अविरल बगिरहने आदर्श जीवनशैलीको इतिवृत्तमा केन्द्रित शब्दचित्र पनि ! एउटा अथक प्रयासको परिणाम हो– शब्दबिम्बमा सत्यमोहन (२०७९)।

हो, सत्यमोहन जोशी एउटा जीवन्त इतिहास हुन्। नेपाल र नेपालीका लागि गौरवमय प्रत्यक्ष इतिहास ! लगभग तीन पुस्ताले साक्षात्कार गरेका आदर्श व्यक्तित्व ! नेपाली साहित्य, संस्कृति, पुरातŒव र इतिहासविद्... ! एउटा समाज, संस्कृति र युगलाई दिशानिर्देश गर्न सक्ने प्रतिभा ! अविच्छिन्न सादगी जीवनका पर्यायवाची एवं समयलाई बुझ्न सक्ने साधक ! उक्त ग्रन्थका सम्पादक ढुंगानालाई पक्कै पनि गाह्रो परेको हुनुपर्छ कि सत्यमोहनका कुन कुन आयामलाई कसरी समेट्ने र कसरी कृतिलाई अमरता तुल्याउने ? एउटा सिंगो युगमा व्याप्त सत्यमोहनका यावत् सन्दर्भलाई कस्ता शब्दबिम्बभित्र सजाउने ? जे होस्, नेपाली साहित्यमा यो अथक प्रयासले मूर्तरूप लिइसकेकोे छ। ग्रन्थको नाम आफैंले सत्यमोहनलाई न्याय दिएको छ, उचाइ थपिदिएको छ। विशेषगरी उनको अवसानसँगै आमसञ्चार माध्यममा व्यक्त सबैजसो विचार (समाचार, सम्पादकीय आदि)लाई समेट्दै कृतिले साकार स्वरूप ग्रहण गरेको छ।

आठ खण्डको एकीकृत स्वरूप हो– ‘शब्दबिम्बमा सत्यमोहन’। २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा असामयिक निधन भएका सत्यमोहनबारे प्रकाशित सामग्रीहरूको खँदिलो र व्यवस्थित प्रस्तुति हो– ‘शब्दबिम्बमा सत्यमोहन’। जसमा सम्पादक ढुंगानाले अबिच्युरी, लेख, आलेख, अन्तर्वार्ता, समाचार, सम्पादकीय, समालोचना, कविता, कृति विवरण र तस्बिरहरूलाई समष्टि रूप दिएका छन्। सिंगो मुलुक वा नेपाली मनमुटुबाट व्यक्त सत्यमोहनप्रतिका उद्गारहरूले यसको गरिमा बढाएका छन्। अग्रज पुस्तादेखि अनुज पुस्तासम्मका अथवा भनौं, राष्ट्रका जिम्मेवार सञ्चारमाध्यमदेखि कवि साहित्यकारसम्मका व्यक्त विचारहरू नै यस कृतिका लागि स्वस्थ ढुकढुकी बनेका छन्।

ग्रन्थमार्फत सत्यमोहनलाई विभिन्न कोणबाट चिनाइएको छ। उनको आजीवन योगदानबारे परिचर्चा गरिएको छ। जन्मदेखि मृत्युसम्मका विभिन्न विशिष्ट सन्दर्भबारे रेखांकन गरिएको छ। अनेक व्यक्तिका अनेक दृष्टिकोणलाई एकत्रित गरिएको छ। सत्यमोहन नुनलदेवी र शंखरराजका छमध्ये जेठा सन्तान। जसले ललितपुरको बखुम्बहाःलाई आजीवन बासस्थान बनाए। आपूm २० वर्षको हुँदादेखि अर्धांगिनीका रूपमा राधादेवीको साथ पाए। उनले संस्कृतको प्रारम्भिक शिक्षा लिए; पाटन स्कुलबाट अंग्रेजीको प्रारम्भिक शिक्षा पनि लिए। त्यसपछि दरबार हाइस्कुलदेखि त्रिचन्द्र हुँदै भारत, श्रीलंका र न्युजिल्यान्डसम्मको शैक्षिक यात्रा पूरा गरे। उनले चीन, भारत, कोरिया, रुस, बेलायत, अमेरिका, बंगलादेश र क्यानडा आदि स्थानको भ्रमण गरे। उनी जहाँ पुगे, कुनै निश्चित उद्देश्यका साथ पुगे र केही न केही उपलब्धिका साथ फर्किए।

ग्रन्थभित्रका लेख, परिशिष्टांक र समाचार खण्डमा ६१ शीर्षक छन्। फरकफरक शीर्षकमा फरकफरक व्यक्तिका लेखलाई फरकफरक स्रोतबाट साभार गरिएको छ। विशेष लाग्ने विषय भने स्वयं सत्यमोहनका जीवनयात्रा र अनुभूतिपरक उनकै तीनवटा लेखले समेत स्थान पाएका छन्। यस्तै, राष्ट्रकवि माधव घिमिरे, भैरव रिसाल, डा. जगमान गुरुङ, प्राडा गार्गी शर्मा, सीके लाल, डा. गोविन्द टन्डन र रामभरोस कापडी आदिका सत्यमोहनप्रतिको दृष्टिकोण र मूल्यांकनले ग्रन्थको गरिमा बढाएको छ। प्राडा खेम कोइराला बन्धु, धीरेन्द्र प्रेमर्षि, माया ठकुरी, शीतल गिरी, गीता त्रिपाठी, श्रीओम श्रेष्ठ, नरेन्द्रराज प्रसाई, रतन भण्डारी, चिरञ्जीवी मास्के, मोहन दुवाल, तुलसी दिवस, डा. मानसाग्नि, तेजेश्वरबाबु ग्वंगः, रामदयाल राकेश, जीवनाथ धमला, तीर्थबहादुर श्रेष्ठ, लक्ष्मी लम्साल, डीबी नेपाली, सुमनराज ताम्राकार, सरस्वती प्रतीक्षा र संगीता दाहालका समीक्षात्मक अभिव्यक्तिसमेत उनको उचाइ थप्न सफल छन्। सञ्चार क्षेत्रकै देवेन्द्र भट्टराई, गोपीकृष्ण ढुंगाना, अमृत भादगाउँले, गणेश राई, जयदेव भट्टराई, डब्बु क्षत्री, दीपक श्रेष्ठ, दिलीप ढकाल, रमेश लम्साल, बिनिता दाहाल, दिनेश गौतम, राजकरण महतो, स्मृति ढुंगाना, सुनील महर्जन, नितु घले, सुशीला महर्जन, गोविन्द पोखरेल र ममता थापा गरी १७ जनाको विश्लेषण र समाचारलाई पनि संश्लेषण गरिएको छ।

यसैगरी, ‘तिमी बाँच्यौ होसले एक शताब्दी’ शीर्षकमा सरुभक्त, ‘सत्यमोहन ः इतिहास दिएर गए’ शीर्षकमा शान्तिदीप रायमाझी र ‘सत्यमोहन जोशी ः एक नयाँ विभूति’ शीर्षकमा नारायण नेपालले सत्यमोहनका नाममा कविता सिर्जना गरेको पाइन्छ भने निधनअघि कनकमणि दीक्षित, छविरमण सिलवाल र देवीदत्त पौडेलले लिएर प्रकाशित गरेका सत्यमोनसँगको अन्तर्वार्ता छ। यस्ता सामग्रीको अधिकतम स्रोत अन्नपूर्ण पोस्ट छ भने हिमाल, कान्तिपुर, नेपाली, नयाँ पत्रिका, गोरखापत्र, नागरिक, राजधानी, अनलाइनखबर डटकम, बाह्रखरी डटकम, प्रभातफेरी साप्ताहिक र साझाकथा डटकम आदि छन्। वस्तुतः सत्यमोहन स्वयंमा अथाह ज्ञानका भण्डार र अथक साधकका पर्यायवाची हुन्। उनी एउटा सकारात्मक सोचका साथ दृढ संकल्प लिएर निरन्तर क्रियाशील रहिरहने अविचलित प्रतिभा हुन्। भैरव रिसालका दृष्टिमा उनी सोच, जाँगर र खोजको परिणाम हुन्। डा. जगमानका दृष्टिमा उनी स्वयं प्रज्ञा हुन्। त्यस्तै हरेक लेखकका नजरमा उनी फरकफरक प्रतिबिम्ब बनेका छन् ग्रन्थमा। त्यसैले त यस ग्रन्थभित्र उनलाई सत्य सन्धानी, स्वार्थरहित, संस्कृतिका धरोहर, सधैं सक्रिय, नेपाली मन ः नेपालीपन, सत्मार्गका यात्री र शताब्दी पुरुष आदि विभिन्न पद पदावलीद्वारा सम्बोधन गरिएको पाइन्छ।

ग्रन्थले पाएको पृथक् विषय भनेको ‘सम्पादकीय खण्ड’ हो। कुनै कालखण्डमा पुग्दा सत्यमोहनको निधनपछि दैनिक अखबारले कस्तो सम्पादकीय लेखेका रहेछन् भन्ने इतिहास कुनै व्यक्तिबारेका पाउन कठिन छ। सम्भवतः ढुंगाना आफैंमा पनि विचार सम्पादक भएर हुन सक्छ यो सोच ग्रन्थमा पोखिएको। सम्भवतः नेपाली सञ्चार जगत्मा यति धेरै मात्रामा विरलै किसिमबाट यस्ता संस्कृतिविद् वा कोही पनि साहित्यकारप्रति सम्पादकीयका साथ सम्मान गरिएको। एउटा स्रष्टासमेत भएर सायद सञ्चारकर्मी ढुंगानाले सम्पादकीय र अझ समाचार जस्ताको तस्तै ग्रन्थमा उन्ने सत्प्रयास गरेका हुन्। ‘एक युगको अन्त्य’, ‘श्रद्धा–सलाम युगपुरुष’, ‘शताब्दी साक्षी’, ‘युगपुरुषको महाप्रस्थान’, ‘बहुआयामिक अविश्रान्त साधक’, ‘संस्कृतिविद्बाट सिक्नुपर्ने संस्कृति’ र ‘सत्यमोहनको संस्कार’ शीर्षकमा सम्पादकीय प्रकाशन गरेर सत्यमोहनले हाँकेको शताब्दी यात्राबारेको गहन विश्लेषण प्रतिबिम्ब भएको छ। सातौं खण्ड जोशीका केही मुख्य कृतिको विवरण र आठौं खण्ड जोशीसम्बद्ध तस्बिर खण्ड राखेर ग्रन्थ ‘सुनमा सुगन्ध’ बनाउने प्रयास गरिएको छ। 

कुमार आलेको तस्बिरले आवरण बनेको यो ग्रन्थको अन्तिम पानामा कृष्णगोपाल श्रेष्ठको स्केच छ। आवरणको भित्री पातोमा बासु क्षितिज र अन्तिम पानाको भित्रपट्टि सुमन मानन्धरको स्केच छ। ऐतिहासिक व्यक्तित्वको नाममा तयार पारिएको यस ग्रन्थमा यसप्रकार लेखक, पत्रकार, फोटोग्राफर र फोटोपत्रकारहरूको यो ‘प्लेटफर्म’ आफैंमा ऐतिहासिक बनेको छ। स्केच बनाउने मित्रहरूको कलाप्रति पाठक नतमस्तक हुनेछन् भने सम्पादकले पनि स्केचलाई यथोचित स्थान दिएको पाइन्छ। 

विद्यालयको पाठ्यक्रममा विभिन्न विधाका डेढ दर्जनबढी सिर्जना प्रकाशित गरिसकेका बालसाहित्यकार ढुंगाना गीत, गजल र अनुसन्धान क्षेत्रमा समेत पोख्त भएकाले हरक्षेत्रको ज्ञानलाई यस ग्रन्थमा घुलमिल गराउन सफल देखिएका छन्। कुन विषयको कहाँनेर महŒव हुन्छ भन्ने बुझेका उनले अन्तिम पातोमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग र सञ्चार एवं साहित्यकर्मी कनकमणि दीक्षितका भनाइलाई प्रस्तुत गरेर जोशीबारेको धारणा सहजै बुझ्नसमेत सजिलो भएको छ।

एक दशकअघि सत्यमोहनले आफूसँगका खजानाको कृति तयार पार्नू भने पनि निधनपछि नै सही सम्पादक ढुंगानाले त्यो वचन पूरा गरेका छन्। निरन्तर क्रियाशील भइरहँदा ‘शब्दबिम्बमा सत्यमोहन’ जीवनीपरक सम्पादनात्मक कृति प्रकाशन हुन सुखद पक्ष हो। प्रकाशक भुँडीपुराण प्रकाशन, काठमाडौंले पनि ऐतिहासिक कदममा साथ दिएको छ। सिंगो युगको नेतृत्व गर्ने बहुआयामिक प्रतिभाबारे सामग्री संकलन र सम्पादनको कार्य आफैंमा चुनौतीपूर्ण हुँदाहुँदै पनि सफलता हासिल गर्ने ढुंगानाको यो कृति मुलुककै लागि संग्रहणीय बनेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.