नेपालको प्रतिद्वन्द्वी सिंगापुर
काठमाडौं : नेपालले मलेसियामा जारी एसीसी इस्ट जोन यू–१६ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा सिंगापुर प्रतिद्वन्द्वी पाएको छ। शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गर्दै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’ को उपविजेता सिंगापुरलाई प्रतिद्वन्द्वी पाएको हो।
बायोमास ओभल क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा ९९ रनमा समेटिएको थियो। मलेसियाका मोहमद हैरिलले सर्वाधिक २५ रन बनाए। यस्तै कप्तान मोहमद आलिफले १५ र मोहमद अक्रमले १२ रनको योगदान दिए। मलेसियाका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मलेसियालाई सस्तैमा समेट्न नेपालका अशोक धामीले चार विकेट लिए। सात ओभर बलिङ गरेका उनले १४ रन खर्चिएर चार विकेट लिएका हुन्। कप्तान अभिषेक तिवारीले तीन तथा सन्तोष यादवले दुई विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३.४ ओभरमा अलआउट हुँदै एक सय ८३ रनको योगफल खडा गरेको थियो। नेपालका अशोक धामीले अर्धशतकीय पालि खेले। उनले ३६ बलमा पाँच छक्का र तीन चौकाको सहयोगमा ५२ रन बनाए। यसैगरी नरेन भट्ट र सूर्यांशु कोइरालाले समान २९, कार्तिक कामतले १६ र दीपु कुमारले १५ रन जोडे। मलेसियाका मोहमद मुकरी, एरिन एकवाल, हरिक हाइकाल र मोहमद अक्रमले दुई÷दुई तथा मोहमद फतुलले एक विकेट लिए।
जितसँगै नेपाल समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्यो। मलेसिया उप विजेता बन्यो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालले फाइनल प्रवेशका लागि सोमबार सिंगापुरको सामना गर्नेछ।