६४ जना किसानलाई ट्याक्टर वितरण
सिन्धुली : कमलामाई नगरपालिका सिन्धुलीले नगरका ६४ जना किसानलाई कृषियन्त्र (हाते ट्याक्टर) वितरण गरेको छ।
शनिबार नगरपालिकामा आयोजित कार्यक्रममा ६४ जना किसानहरूलाई ७ एचपी र १८ एचपी पावरका मिनि टिलर र पावर टिलर वितरण गरिएको हो।
नगरका नगरप्रमुख उपेन्द्र कुमार पोखरेल र उपप्रमुख मन्जु देवकोटाले संयुक्त रूपमा किसानहरूलाई कृषियन्त्र वितरण गरेका हुन्।
नगरको वार्षिक कार्यक्रमअन्तर्गत व्यावसायिक कृषिका लागि आधुनिक कृषियन्त्र वितरण गरिएको नगर प्रमुख पोखरेलले बताए।
‘नगरले नगरभित्रका किसानहरूका लागि ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गर्ने कार्यक्रम राखेको थियो। सोही कार्यक्रम अन्तरगत ६४ जना किसानहरूलाई यान्त्रीकरण वितरण गरेका हों,’ उनले भने।
कृषियन्त्र वितरणमा कमलामाई नगरपालिका ५ का वडा अध्यक्ष पूर्णबहादुर खड्काले पछिल्ला दिनहरूमा गाउँघरमा कृषि मजदुर नहुँदा खेतीपाती गर्नै कठिन हुँदै गएको पाइएपछि वडा भित्रका कृषक समूह, सहकारीको तथा वडाको सिफारिसमा छनौट भएका कृषकहरूलाई एकैपटक ठूलो संख्यामा कृषकहरूलाई कृषियन्त्र वितरण गरेको जनाए।
गोरु तथा कृषि मजदुरको अभाव भइरहेका बेला नगरले आधुनिक कृषियन्त्र पाउँदा राहत पुगेको किसानहरूले प्रतिक्रिया दिएका छन्।