यसरी जोगाइन्थ्यो अनिकालका लागि तरकारी
जोतपुर (बर्दिया) : घारी (गोठ) र घरको बलेसीको भित्रपट्टि दुई वटा फर्सी झुण्ड्याइएको छ। भर्खरै टिपेको जस्तो हरिया छन्। ‘गएको पुसमा फलेको फर्सी हो। वर्षायाममा तरकारी पाइन्न भनेर राखेको हुँ’, बर्दियाको राजापुर नगरपालिका–२ जोतपुरका ७८ वर्षीय सुबदार थारुले भने, ‘चार वटा कब्ली (फर्सी) थियो। एउटा कुहियो। अर्र्को अस्ती तरकारी खायौं।’
कुनै बेला यस्तो पनि हुन्थ्यो, तराईका आदिवासी थारु जातिका खर र खप्राका छानोमाथि पाकेका पहेँला फर्सी लस्करै राखिएका हुन्थे। सिजनमा हरियो फर्सी खाएर अफ सिजनका लागि पाकेको फर्सी राखिन्थ्यो। अहिले त राजापुर क्षेत्रमा थारुका घर टिनले टलक्क टल्किएका छन्।
‘अब त कसैको घरमा पनि खरको छानो नै छैन। टिनको छानोमा फर्सी, लौका र कुपिन्डो लगाउँदा टिन बिग्रन्छ। फर्सी टिप्न मान्छे छानोमा चढ्यो टिन कच्याककुचुक हुन्छ। खिया लाग्छ भनेर लगाउँदैनन्’, थारुले छानामा मौलाउँदै गरेको फर्सीकोे बिरुवा देखाउँदै भने, ‘मेरो घारी (गोठ) खरको छ। यसमा लगाउँछु। फर्सीको बोट त सप्रेको छ। कस्तो फल्छ खै ?’
बुढापाका पुस्ता सबै सिजनमा तरकारीको अभाव नहोस् भनेर अनिकालका लागि पनि जोगाएर राख्थे। फर्सी र कुपिन्डो अलि लामो समयसम्म जोगाएर राख्थे। सिजनमा भाजी र तोरीको साग प्रसस्तै हुन्थ्यो। वर्षायामका लागि बफाएर सुकाउँथे। करेला पनि बिउ निकालेर सुकाउँथे। जंगलमा पाइने च्याउ धेरै भए सुकाएर राख्थे। साउन भदौमा नदी वा खोलाबाट धेरै माछा मारेर ल्याउँदा पनि सुकुटी बनाएर राख्थे। पाकेको खुर्सानी र बयर सुकाएर छाना रातै देखिन्थ्यो।
ठाकुरराम चौधरीले भण्डारण गरेको थारु आलु
‘पहिले बजारमा तरकारी पाइँदैनथ्यो। वर्षायामका लागि सबैले घरमै राख्थे’, थारु विगत र वर्तमानको तुलना गर्छन्, ‘भए त आजका मान्छेले पनि राख्थे। फर्सी र लौका त लगाउनै छोडे। बजारबाट किनेर ल्याउँछन्। सजिलै छ।’ बजारमा ठूल्ठूला हाइब्रिड जातका आलु पाइए भए पनि थारु बस्तीमा अझै पनि आकारमा सानो हुने स्वादिलो थारु आलु नै लोकप्रिय छ। यसलाई संरक्षण गर्ने परम्परागत थारु विधिले वर्षभरी आलु जस्ताको तस्तैै हुुन्छ। अरु तरकारी नहुँदा थारु आलुको झोल र भात पनि स्वादिष्ट हुन्छ। झट्ट सुन्दा फ्रिज वा कोल्ड स्टोरमा आलु राख्ने होला भन्ने हाम्रो दिमाखमा आउन सक्छ। कोल्डस्टोरमा होइन पोका पार्ने र झुुन्ड्याएर राख्ने।
जोतपुरकै ७८ वर्षका ठाकुरराम चौधरीले घारीमा कम्तीमा दश दश किलोका चार पोका आलु राखेका छन्। यो कस्तो परालको पोको बनाउनु भएको हो ? अन्नपूर्णको जिज्ञासामा चौधरीले भने, ‘पराल होइन। उनारा हो।’ उनारा भनेको के रहेछ ? ‘तोरीको डाँठ हो। तोरी चुटेपछि उनारा काम लाग्दैन भनेर फालिन्छ। उनाराले आलुको पोको बनाए हावाभित्रै पस्छ। आलु जस्ताको तस्तै हुन्छ। परालको पोको भए हावा पस्न पाउँदैन आलु कुहिन्छ’, उनले प्रस्ट पारे, ‘यो आलु बिउका लागि राखेको हुँ।’ उनको खरको घारी मात्र होइन रहेछ। गर्मीमा खटिया राखेर आराम गर्ने थलो पनि यही हो। घारीका माथि बाल्कोनी जस्तो निकालेर स्टोर नै बनाइएको रहेछ। आफूलाई वर्षभरीलाई आवश्यक पर्ने खाद्य वस्तु र घरेलु प्रयोगका धेरै सामानहरू राखिएका छन्। अहिले बजारमा जे सामान पनि किन्न पाइने भएकाले पनि नयाँ पुस्ताले पछिका लागि सोच्दै नसोच्ने भइसकेका छन्। पैसा भए सबै किन्न पाइन्छ भन्ने सोच हावी छ। थारुका पाका पुस्ताले भने परम्परागत रुपमा गर्दै आएको काम छोडेका छैनन्।
संस्कृतिकर्मी तथा थारु साहित्यकार सोम डेमनडौरा परिवर्तनलाई चाँडो आत्मसात गर्ने थारु जातिमा आधुनिकीकरणको प्रभाव पर्दा अन्न भण्डारण गर्ने परम्परागत सीप र राम्रा अभ्यास हराउँदै गइरहेकोमा चिन्ता व्यक्त गर्छन्। थारु जातिको मौलिक खानामा चासो भने बढ्दै गएको बताउँछन्। नेपालगन्जमा गोचाली खाजा घर समेत सञ्चालनको अनुभव संगालेका डेमनडौराले भन्छन्, ‘हामी टिपिकल थारु खाजा खुवाउँथ्यौं। थारु त आउँथे नै गैरथारु पनि थारु परिकार स्वास्थ्यका लागि लाभदायक भनेर खोज्दै आउँथे।’ उनको खाजाघरमा ढिक्री, घोंघी, गंगटा, अण्डीको भात, थारु आलु, मुसाको चटनीलगायतका थारु भान्साका परिकार हुन्थे। नयाँ पुस्ता सहर बजारमै हुर्के बढेकाले पनि आफ्नो मौलिक परिकार, परम्परागत सीप र अभ्यासबारे अभ्यस्त नभएकाले पनि संरक्षण गर्न जरुरी भएको उनी बताउँछन्। बर्दियाको युनिक नेपालले थारु जातिका यस्ता मौलिक अभ्यासको संरक्षण र सम्बद्र्धन गर्ने, तिनको अभिलेखीकरण गर्ने, ज्ञान सीप आदान प्रदान गर्ने र पुस्तक प्रकाशन गरेर प्रचारप्रसार गर्ने काम गरिरहेको छ। युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारु भन्छन्, ‘बाह्य संस्कृतिको बढ्दो प्रभावका कारण थारु संस्कृतिमाथि थप जोखिम बढ्दै गएको छ। यसै गम्भीर अवस्थालाई ध्यानमा राखी युनिक नेपालले थारु, भाषा, साहित्य, संस्कृति, इतिहास आदिसँग सम्बन्धित खोज अनुसन्धान गर्ने र प्रकाशन गर्ने उद्देश्य बनाएको छ।’