सिन्धुलीको सिंपालमा नेपाल टेलिकमको फोरजी सेवा सुरू
सिन्धुली : सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिका- ५ सिंपालमा शनिबारदेखि नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेस्ठको सक्रिय पहलमा शनिबारदेखि फोरजी सेवा सुरु भएको हो ।
उक्त टावरमा छिट्टै टुजी सेवा पनि सञ्चालनमा ल्याइने मन्त्री श्रेष्ठले जानकारी दिए । उनी यही क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।
घ्याङलेख गाउँपालिकामा यसअघि टेलिफोन सेवा समेत थिएन । फोन सम्पर्क गर्न मोबाइल नेटवर्क खोज्न डाँडा र रूखमा चढ्नु पर्ने बाध्यता थियो । गाउँपालिकामै सञ्चार सेवाको सुविधा नभएपछि मन्त्री श्रेष्ठको पहलमा केही समय अघि घ्याङलेख गाउँपालिकाको ४ नम्बर वडाको चौकीडाँडामा पनि नेपाल टेलिकमको फोरजीसहितको सेवा सञ्चालनमा ल्याइएको थियो ।
१० वर्षे माओवादी जनयुद्धमा पूर्वको रोल्पा भनेर चिनिने यस घ्याङलेख गाउँपालिका मानव विकास सूचकांकमा निकै पछि रहेको छ । बागमती प्रदेशभित्र रहेका १ सय १९ पालिकामध्ये मानव विकास सूचकांकमा १ सय १७ नम्बरमा रहेको यस पालिकाको समग्र विकासका लागि विशेष जोड दिने मन्त्री श्रेष्ठको प्रतिबद्धता छ ।