पर्साका चार सय दलित बालबालिकालाई विद्यालय पोसाक सहयोग
वीरगन्ज : अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित समुदायका चार सय बालबालिकालाई विद्यालय पोसाक सहयोग गरेका छन्।
अमेरिकामा सेजल एन्ड सिस्टर एलएलसी नामक संस्था सञ्चालन गरेका उक्त संस्थाका संस्थापकद्वय मोनु खड्का सुवेदी र मेघ सुवेदीले पिस फर दलित फाउन्डेसन नेपालको पहलमा पर्साका चार सय दलित बालबालिकालाई विद्यालय पोशाक सहयोग गरेका हुन्।
सखुवाप्रसौनी गाउँपालिका-५ महुवनस्थित दलित प्राथमिक विद्यालय, कौवाबन कटैया गाउँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय र विन्दावासिनी गाउँपालिकाको केहुनियास्थित नेपाल आधारभूत विद्यालयमा अध्ययनरत चार सय दलित बालबालिकालाई विद्यालय पोसाक वितरण गरिएको फाउन्डेसन पर्साका अध्यक्ष मनोज रामले जानकारी दिए।
संस्थाले अमेरिकाबाट पठाएको तीन लाख ७६ हजार रुपैयाँमा पोसाक खरिद गरी दलित बालबालिकालाई वितरण गरिएको उनले बताए।