जुम्लामा अन्तरजातीय विवाह गर्दा घरमा आगो लगाइयो
वीरेन्द्रनगर : जुम्लामा अन्तरजातीय विवाह गर्दा दुलाहको घरमा आगो लगाइएको छ। दलित समुदायको केटाले गिरीको छोरी भगाएर विवाह गरेपछि केटी पक्षका आफन्तहरूले कटोको घरमा आगो लगाइदिएका हुन्।
जुम्लाको तातोपानी गाउँपालिका-४ गिडीखोलाका मुकुन्द नेपालीले स्थानीय पर्मिला गिरी (नाम परिवर्तन) सँग भागेर गत साता बिहे गरे। अन्तरजातीय विवाह गरेका मुकुन्द २० वर्षका भए भने केटीको उमेर १६ वर्ष रहेको बुझिएको छ। हाल उनीहरू बाँकेमा रहेको केटीले आफ्ना आफन्तलाई फोनमा भनेको बुझिएको छ।
केटी भगाएको चार दिन पछि दलित केटाको घर आगो लागेको मुकुन्दका माइला दाइ भरत नेपालीले बताए। भाइले अन्तरजातीय बिहे गरेको र त्यसैको झोकमा केटी पक्षका आफन्तहरूले घरमा आगो लगाएको आरोप लगाए। उनले भने, यो काम केटी पक्षका दाइले गराएको भनी किटानी दिने तयारी गरेका छौं।'
गिडीखोला स्थित मुकुन्दको तीन तलाको घर जलेर पुरै नष्ट भएको हाँकु प्रहरी चौकीका इन्चार्ज राजेन्द्र गिरीले बताए। 'घर आगलागी भएको कुरा जिल्ला प्रहारी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हौं। क्षतिको विवरण निकाल्दैछौं। घटनाका थप अनुसन्धान भइरहेको छ', उनले भने।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी प्रलात कार्कीले मुकुन्दको घरमा आगलागी गर्ने भागेकी केटीका दाई हिक्मत गिरीलाई पक्राउ गरिएको बताए।
उनले भने, 'हामीले घरमा आगलागी गर्ने आशंकाका भरमा केटीका दाइलाई पक्राउ गरेका छौँ। उनले प्रहरी समक्ष आफैले आगो लगाएको स्वीकार गरेका छन्। उनी आफै हुन वा अरू साथीहरूसहित आगो लगाएका हुन भन्ने विषयमा थप अनुसन्धान गरिरहेका छौँ।'