कोसीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

कोसीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय
काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठक। तस्बिर सौजन्य : नेपाल कांग्रेस

विराटनगर : नेपाली कांग्रेसले गठबन्धनसहितका दललाई समेटेर कोसी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। 

पार्टीको प्रदेश समितिका पदाधिकारीको काठमाडौंमा आइतबार बसेको बैठकले सरकारको नेतृत्व कांग्रेसभन्दा अरूलाई सुम्पिन नसक्ने निष्कर्ष निकालेको हो। प्रदेशमा बन्ने सरकारको पहिलो नेतृत्वले कांग्रेसले गर्ने निर्णय भएको कांग्रेस कोसी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए। 

उनका अनुसार सबैलाई समेट्दै सहमतिको सरकार गठनमा कांग्रेस लचिलो भएर अघि बढ्ने छ। 

‘गठबन्धनको ठूलो दल भएकाले पहिलो २ वर्ष सरकारको नेतृत्व कांग्रेसले गर्छ। कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने र सरकार गठन गर्ने विषयमा शीर्ष नेताहसँग पहल गरिने छ,’ उनले भने, ‘कांग्रेस २ वर्षपछि सत्ता हस्तान्तरण गर्न तयार छ। तर, सरकारको पहिलो नेतृत्व कांग्रेसले नै गर्छ।’ 

प्रदेश सरकारका लागि केन्द्रका शीर्ष नेताको पहल र सुझाव आवश्यक हुने हुँदा कांग्रेसका लागि सकारात्मक सन्देश प्राप्त हुनेमा विश्वस्त रहेको उपसभापति रायमाझीको भनाइ छ। 

नयाँ सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेतासँग छलफल भइरहेको उनले बताए। भने, ‘राप्रपाले पनि प्रदेश सरकारमा सामेल हुने संकेत गरेको छ। राप्रपासहित सरकार बनाउन सकिन्छ। राप्रपा सरकारमा सहभागी हुन्छभन्ने विश्वास छ।’ 

गठबन्धनको ठूलो दलको हैसियतले कांग्रेसको तुलनामा अन्यको दाबी फिक्का हुने रायमाझी बताउँछन्। कांग्रेसले २ वर्ष सरकार चलाएपछि नेकपा (माओवादी केन्द्र)ले डेढ वर्ष र बाँकी समय नेकपा (एकीकृत समाजवादी)ले सरकारको नेतृत्व गर्नुपर्ने कांग्रेसको दाबी छ। 

विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ। कार्कीले गत शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाउन सकेनन्। मतदान हुँदा उनका पक्षमा ४६ र विपक्षी गठबन्धनको पक्षमा ४३ मत पर्‍यो। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ मत आवश्यक पर्छ। 

मतदानमा तटस्थ बस्ने निर्णयसहित विपक्षी गठबन्धनमै रहेको जनता समाजवादी पार्टी (जसपा) मतविभाजनमा अनुपस्थित रहयो। प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी (सभामुखबाहेक)का १२, राप्रपाका ६, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य छन्। 

एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ। विपक्षी गठबन्धनमा आवद्ध दलले आलोपालो सरकार चलाउने बताउँदै आएका छन्। तर, सरकारको नेतृत्वमा माओवादीको पनि दाबी छ। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो प्रदेशमा पहिलो सरकारको नेतृत्व माओवादीले गर्ने मोटामोटी सहमति भइसकेको बताउँछन्। 

पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबीसहित शीर्ष नेताहरुसँग ‘लबिङ’ गर्न उनी काठमाडौं गएका छन्। माओवादीले सरकारको नेतृत्व पाउँदा आङ्बो मुख्यमन्त्री बन्ने छन्। कांग्रेस संसदीय दलका नेता उद्धव थापा पनि काठमाडौंमै छन्। विपक्षी गठबन्धनले दुई वा दुईभन्दा बढी दल सम्मिलित सरकार गठनका लागि आह्वान गर्न दबाब बढाएका छन्। 

प्रदेशसभाबाट विश्वास गुमाएर सरकारबाट बाहिरिएको एमालेले पनि ठूलो दलको सरकार बनाउनुपर्ने दाबी गर्दै आएको छ। एमाले प्रदेशसभाको ठूलो दल हो। यद्यपि, एमाले नेतृत्वको सरकार ढलेको ३ दिन भइसक्दा पनि प्रदेश प्रमुख पर्शुराम खापुङले भने हालसम्म नयाँ सरकार गठनको आह्वान गरिसकेका छैनन्। 

प्रदेशमा नयाँ सरकार गठन जटिल रहेका कारण उनी कानुनी परामर्शमा रहेको बताइएको छ। उनले संविधानको कुन धारा प्रयोग गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्छ भन्ने यकिन भइसकेको छैन। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.