काभ्रेको खानीखोला अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा
काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको छ। आइतबार गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरे।
जिल्लाको खानीखोला गाउँपालिकाका सातवटै वडा कार्यालयलाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको गाउँपालिका अध्यक्ष थिङले बताए।
पालिकाभित्र रहेका बालबालिकाहरूको विवरण संकलन गरेर चार वर्ष पूरा भई १३ वर्ष उमेर पुगेका सबै बालबालिकाहरू विद्यालयको पहुँचमा रहेका कारण पालिकालाई घोषणा गरिएको अध्यक्ष थिङले बताए।
खानिखोला गाउँपालिकाभित्र कुनै पनि निजी विद्यालय नरहेको तथा सबै विद्यालयहरूमा भर्ना दर र वडाको तथ्यांक अनुसार सबै शतप्रतिशत विद्यालयमा रहेकाले पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गरिएको अध्यक्ष थिङले बताए।
विद्यालय आउन जानका लागि लामो दूरी रहेका कारणले पनि पालिकाले प्रदेश सरकारसँग समन्वयमा काम गरिरहेको अध्यक्ष थिङले बताए। बीचमा विद्यालय छाड्ने विद्यार्थीहरूको पनि चुनौती रहेकाले पालिकाले विभिन्न कार्यक्रम मार्फत विद्यार्थी विद्यालयमा टिकाउने वातावरण बनाउँदै लैजाने उनको भनाइ छ।
जिल्लामा रहेका १३ स्थानीय तहमध्ये यसअघि पहिलो बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा भइसकेको छ।