बेनी–गलेश्वर सडक : पाँच महिनामा ८० प्रतिशत प्रगति
बेनी : कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा पाँच महिनामा ८० प्रतिशत भौतिक प्रगति भएको छ ।
धेरैजसो विकास आयोजना ढिलासुस्तिका कारण अलपत्र बनिरहेको अवस्थामा बेनी–गलेश्वर सडक स्तरोन्नतिको काममा भएको भौतिक प्रगतिले प्रशंसा पाएको छ । जिल्लामा भित्रिएका ठूला योजनाहरूमा ढिलासुस्ती, अलपत्र र समयमै सम्पन्न नहुने समस्याबीच बेनी–गलेश्वर सडकमा छोटो समयमा धेरै काम भएको बेनपा–९ का वडा अध्यक्ष चक्र केसी बताउँछन् ।
‘बेनी–गलेश्वर सडक आयोजनामा छोटो समयमा हाँसिल भएको प्रगतिले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ।’ उनले भने, ‘निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहिजकरण गर्ने हो भने ढिलासुस्ति हटाउन सकिने सन्देश दिएको छ ।’
बेनी–जोमसोम कोरला सडक योजना प्रमुख जगत प्रजापतिले कोरिडोर अन्तरगत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी– गलेश्वर रहेको बताए ।
२०७९ माघ ६ गतेबाट सुरु गरेको योजनाको काम हालसम्म सडक तलमाथिको पर्खाल, नाली, चार वटा कल्भट, सडक फराकिलो बनाउने काम, सबवेस र २ सय मिटर आरसिसी ढलानसहित ८० प्रतिशत काम सकिएको प्रजापतिले बताए ।
‘यस सडकमा बेस हाल्न र कालोपत्रे काम मात्र बाँकी छ,’ उनले भने ‘बर्खा रोकिने बित्तिकै सम्पन्न गर्ने तयारीमा निर्माण कम्पनी र आयोजना कार्यालय छ ।’
निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले ठेक्का सम्झौता लगत्तै योजनास्थलमा उपकरण र मजदुर परिचालन गरेर साँघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने, सडक तल माथि पर्खाल, चारवटा कल्भट, दुई सय मिटर आरसीसी ढलानको काम सकिएको बताए ।
दुई किलोमिटर १०२ मिटर सडक कालोपत्रे गर्नका लागि कम्पनीले भ्याट/पिएससहित १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस १७ गते आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।
मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीय रुपमा नियमित रुपमा अनुगमन, निरीक्षण र समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए । यो सडक कालोपत्र भएपछि बेनी नगरपालिका सहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवात जावातमा सहज हुने छ ।
कालीगण्डकी नदीको कटान र माथिबाट खहरे भेलले सडक जीर्ण र साँगुरो बन्दै गएपछि पर्यटक र सर्वसाधारणको तीव्र दबाबपछि जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र कोरिडोरको सक्रियतामा योजना अघि बढेको हो ।
म्याग्दीको बेनी–गलेश्वर सडक । तस्बिर : सन्तोष गौतम