विमानस्थलको भाषा

भ्वाइस अफ दि भ्वाइसलेस

विमानस्थलको भाषा

संयोगले म त्यस्ता कर्मचारीको काउन्टरमा परेको हुँ, वा अरू पनि त्यही शैली अपनाउँथे– जति बोले, अति टर्रो।

उनले काउन्टरबाट चिउँडो उठाए। मैले पासपोर्ट थमाएँ। उताबाट रुखो लवजमा प्रश्न आयो, ‘कहाँबाट आउनुभयो ?’

‘दुबईबाट’, मैले जहाज चढेर आएको अन्तिम राष्ट्र बताएँ। 

उनले पासपोर्ट फरर्र पल्टाए। र, झर्किंदै भने, ‘ओमानबाट आउनुभएको रहेछ त ?’ 

‘जान त ओमान गएको थिएँ’, मैले भनें, ‘तर, अहिले चाहिँ दुबईबाट आएको।’

उनले पासपोर्टमा ढ्याक्क छाप हाने। हुत्त मतिर फाल्दै निर्देशात्मक शैलीमा भने, ‘अबदेखि ओमान भन्नुहोस् है।’
म अध्यागमनबाट निस्किएँ। 

हिजो बिहान करिब १ बजेको हुँदो हो। फ्लाई दुबईबाट उत्रिएर मसहितको एउटा हुल अध्यागमनतिर लाग्यो। लाम ठूलै थियो। तर, अरू बेलाभन्दा फटाफट काम भइरहेको थियो। सोचेभन्दा छिटै मेरो पनि पालो आयो।

हो, अध्यागमनका कर्मचारी निकै धपेडीमा थिए। छिटो–छिटो ‘एक्जिट’ गराउने चाप थियो। धेरै बोल्दैन थिए। तर, संयोगले म त्यस्ता कर्मचारीको काउन्टरमा परेको हुँ, वा अरू पनि त्यही शैली अपनाउँथे– जति बोले, अति टर्रो।

ooo

झरियो तल्लो तल्ला। भन्सार इलाकास्थित मेटल फ्रि जोन (धातुरहित इलाका) लेखिए ठाउँमा ठूलो लाम थियो। पर्स, बेल्ट, घडी, मोबाइल आदि धातुजडित सामान ट्रेमा हालेर मेसिन स्क्यानिङ गरिन्छ त्यहाँ। फ्लाई दुबई र कतारका जहाज एकै समयजस्तोमा आएकाले आगन्तुकको चापै थियो। लाम भने सभ्य थियो।

‘त्यो घडी खोल्नुहोस्’, एक कर्मचारी झर्किएर हरेकजसो यात्रुलाई अनावश्यक झर्को लगाइरहेकी थिइन्, ‘बेल्ट पनि खोल्नुहोस् भनेको सुन्नु भएन ?’ उनी लामको वल्लोदेखि पल्लो छेउसम्म ओहोर–दोहोर गर्दै के–के भन्दै कराएको करायै गर्थिन्। अन्य विमानस्थलमा यसरी नै धातुरहित भएरै आएका सम्भवतः कसैलाई के गर्नुपर्छ भन्ने थाहा नभएको थिएन। तिनले न सिकाउनु नै थियो, न शिष्टतापूर्वक सिकाएकै थिइन्।

खासमा त्यस कामका लागि एक जनशक्ति दुरुपयोग गरिरहनुपर्ने नै थिएन। त्यसमा पनि यात्रुलाई झपार्ने व्यक्ति त कुनै हालतमा चाहिन्न थियो त्यहाँ। किनकि, जहाजबाट आउने नेपाली मात्र हुँदैनन्, विदेशी पाहुना पनि हुन्छन्। तिनलाई यसखाले ‘सत्कार’ पच्दैन। बरु लाममा उछिनेर अघि–अघि दौडिने व्यक्तिलाई त्यहाँ रोक्ने कोही थिएन। संसारका कुनै विमानस्थलमा त्यस्तो दृश्य देखिन्न। हामीकहाँ हेर्दा भद्र देखिने व्यक्तिहरू लाम नाघिरहेका हुन्छन्। रोक्नुपर्ने तिनलाई चाहिँ थियो।

करिब १० मिनेटमा मेटल डिटेक्ट गर्ने ढोका कटियो। डिटेक्टर मेसिन बोकेका व्यक्ति खडा थिए त्यहाँ। उनले शरीर जाँच गर्दै सोधे, ‘कहाँबाट आउनुभएको ?’ 
‘ओमानबाट’, मैले भनें।
‘ओमानबाट कुन जहाज आएको छ र अहिले ?’ झर्किंदै मतिर हेरे।

अचम्म, उही प्रश्नमा एउटा निकायलाई एउटा, अर्कालाई अर्कै जवाफ दिनुपर्ने हो कि ? अध्यागमनमा दुबई भन्यो, ओमान भन् भन्छन्। भन्सारमा ओमान भन्यो, दुबई भनिदियोस् ठान्छन्।null

देशको अन्तर्राष्ट्रिय विमानस्थलले कुनै पनि देशबाट फर्किएको नेपाली नागरिकलाई घरमा सहर्ष स्वागत गर्नुपर्ने होइन र ? कहाँबाट आइस् ? किन गइस् ? कहिले गइस् ? जस्ता प्रश्न किन चाहिए। त्यसमा पनि हरेक व्यक्तिले सोध्ने। अझ मीठो होइन, झगडा गर्न वर्षौं तालिम दिएर राखेको मान्छेको जस्तो स्वरमा। के यो आवश्यक छ ? भन्सारमा– कसले के ल्यायो ? ल्याउन मिल्ने हो कि नमिल्ने ? कानुनले तोकेको दायराभन्दा बढी ल्यायो कि ? यो पो हेर्नुपर्ने होइन र ?

ooo

प्रायः कतार एयर, फ्लाई दुबईलगायत खाडी राष्ट्र र मलेसियाबाट आउने जहाज अवतरण गर्दा विमानस्थल कर्मचारीको मनोविज्ञान अलि बदलिन्छ। किनकि, त्यहाँबाट ९० प्रतिशतभन्दा बढी वैदेशिक रोजगारबाट गएकाहरू घर फर्किन्छन्। तिनलाई ‘सत्कारयोग्य यात्रु’ ठान्दैनन् उनीहरू। कतिपयले त भाइ, बहिनी भन्छन्।

बाध्यतामा विदेश बसेका नेपाली दाजु–भाइ, दिदीबहिनीलाई राज्यबाट यसरी हेप्न पाइन्छ ? श्रम गरेर महिनाको एक खर्ब रेमिट्यान्स त उनीहरूले पठाएका छन्। देशमा दह्रो भरथेग विदेशबाटै नेपालीले पठाउने पैसाको छ। कर्मचारीले खाने तलबमा त्यसको हिस्सा पनि मिसिएको छ। त्यही पारिश्रमिक लिएर, तिनैलाई ‘मजदुर त हुन्’ भन्ने दृष्टिले व्यवहार गर्न पाइन्छ ?
अहँ, पाइन्न।

श्रमिक यात्रा गर्ने रुटमा हवाई सेवा कम्पनीको हेर्ने दृष्टिकोण पनि फरक छ। ओमानबाट दुबई आउने फ्लाई दुबईको उही विमान, सुविधा प्रशस्त। सफा–सुग्घर। हरेक सिटको अगाडि डिस्प्ले स्क्रिन। दुबईबाट नेपाल आउने विमान उस्तै, भित्र सुविधा अति कमसल। कतै एउटा डिस्प्ले स्क्रिनसम्म थिएन। साढे ४ घण्टाको यात्रामा कहाँ पुगियो, अवस्था के छ, केही ज्ञातसम्म नहुने।

बाध्यतामा विदेश बसेका नेपाली दाजु–भाइ, दिदीबहिनीलाई राज्यबाट यसरी हेप्न पाइन्छ ? श्रम गरेर महिनाको एक खर्ब रेमिट्यान्स त उनीहरूले पठाएका छन्। देशमा दह्रो भरथेग विदेशबाटै नेपालीले पठाउने पैसाको छ।

प्रसंग विमानस्थलकै। अन्तर्राष्ट्रिय विमानस्थल देशको सुन्दरता र संस्कार झल्काउने थलो हो। मेरो घर, मेरो देश भन्दै गर्वले ओतप्रोत भई फर्कने स्वदेशीमात्र होइन, नेपालको नाम र नेपालीको शिष्टता सुनेका विदेशी यही ढोकाबाट बाहिर निस्कन्छन्। विदेशबाट वर्षौंमा फर्किनेहरूको पहिलो न्यास्रो मेटाउने थलो हो, विमानस्थल। हाम्रो राष्ट्रको यावत् प्रशंसा सुनेर आउनेलाई पहिलो स्वागत सत्कार गर्ने ठाउँ यही हो। त्यसैले यहाँ खटिने कर्मचारीलाई शिष्ट, सभ्य र सुसंस्कारयुक्त हुन सरकारले सिकाउनुपर्ने हो।

दोष कर्मचारीको मात्र नहुन सक्छ। किनकि, अपायक समयमा हडबडिएर काम गर्दा तनाव अवश्य हुन्छ। तर, ड्युटी नै त्यस्तो, त्यसको व्यवस्थापन गर्नैपर्ने हुन्छ। मेरो सुझाव– त्यहाँ जसलाई खटाइन्छ, बरु ‘हस्पिटालिटी’को तालिम दिएर पठाउनु उचित हुन्छ कि ?

ooo

दुबई विमानस्थलमा एक नेपाली नेपालबारे नानाभाँती टिप्पणी गर्दै थिए। देश खत्तम भयो, बर्बादै भयो भन्थे। अति निराशावादी र आपत्तिजनक भाषामा प्रस्तुत भइरहेका थिए। आफ्नै देशको छातीमा आफ्नै नागरिक मित्रले विदेशी भूमिमा झीरले हान्दा साँच्चै मन दुख्यो। हामीले अनुरोधपूर्ण भाषामा उनलाई भन्यौं, ‘महाशय, यही कुरा सानो स्वरले भन्दा हुँदैन ?’
शायद उनले बुझे। अनि, मौन रहे।

तर, जब हामी आफ्नो देशमा ओर्लियौं, कर्मचारीको भाषा त्यसभन्दा दुख्ने थियो। बिझ्ने थियो। जता गयो, त्यतै अपमान थियो। कृपया, यस्तो नगरौं। हामी जति शिष्ट हुन्छौं, अरूबाट उति शिष्टता पाउँछौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.