करोडौंका योजनाहरूको प्रगति शून्य
गोरखा : गोरखाका पालिकाहरूले करोडौँ रुपैयाँ विनियोजन गरेका योजना तथा कार्यक्रममा प्रगति हुन सकेको छैन।
हालै महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदनमा यहाँका ११ वटै पालिकाले करोडौँ रुपैयाँ विनियोजन गरेका योजना तथा कार्यक्रमहरू काम सुरु नै नगरी खेर फाल्ने गरेको पाइएको हो।
‘तोकिएको सफलता हासिल गरी पालिकाले शतप्रतिशत प्रगति हासिल गर्नुपर्नेछ, तर गोरखाका पालिकाहरूले धेरै योजना तथा कार्यक्रमहरूमा शून्य प्रतिशत प्रगति हासिल गरेका छन्’, प्रतिवेदनको सुझावमा भनिएको छ, ‘कार्यान्वयन गर्न सकिने योजनाहरू मात्र छनौट गरी पास गर्नुपर्छ। लक्ष्यअनुसार प्रगति नहुने हो भने पालिकाको नीति तथा कार्यक्रमको कुनै औचित्य रहँदैन।’
पालिकाले योजना छनौटमा ध्यान पुर्याउनुपर्ने भनेर महालेखाले सुझाव दिएको छ। तर गोरखाका पालिकाहरूले भने बर्सेनि कत्ति पनि कार्यान्वयन गर्न नसक्ने दर्जनौँ योजना तथा कार्यक्रम छनौट गर्ने गरेका छन्।
गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा ८९ वटा योजनामा शून्य प्रतिशत प्रगति गरेको थियो। पाँच करोड ४५ लाख रुपैयाँको सो योजनामा कति पनि प्रगति हात पार्न सकेन। त्यस लगत्तै अर्को आर्थिक वर्ष २०७८/०७९ मा २४ वटा योजनामा शून्य प्रतिशत प्रगति भएको छ। ५ लाखदेखि ५० लाखसम्मका चार करोडभन्दा बढीका योजनामा प्रगति हुन नसकेको महालेखाले जनाएको छ।
अरु १० वटा पालिकाले पनि करोडौँका योजनामा सुन्य प्रगति गरेका छन्। आर्थिक वर्ष २०७७/०७८ मा २८ वटा योजनामा कत्ति पनि प्रगति नगरी बजेट खेर फालेको बारपाक सुलीकोट गाउँपालिकाले अर्को आर्थिक वर्ष २०७८/०७९ मा पनि २९ वटा योजनामा शून्य प्रगति गरेको छ। दुई लाखदेखि एक करोड १६ लाखसम्मका गरी सो पालिकाले तीन करोड ४१ लाखका योजनामा शून्य प्रगति हात पारेको हो।
आर्थिक वर्ष २०७८/०८९ मा पालुङ्टार नगरपालिकाका ३५ वटा योजनाहरूमा शून्य प्रगति भएका छन्। यहाँ पनि तीन लाखदेखि ५० लाखसम्मका नौ करोड ६७ लाखका योजनाहरूको कत्तिपनि प्रगति नभई बजेट फिर्ता भएको हो।
सिरानचोक गाउँपालिकाको पनि अवस्था उस्तै छ। सो पालिकाले गत आर्थिक वर्ष १३ लाखदेखि ९२ लाखसम्मका आठ करोड ८५ लाखका २६ वटा योजनामा प्रगति शून्य हात पारेको हो ।
सो आर्थिक वर्ष सहिदलखन गाउँपालिकाले पनि १४ वटा योजनामा कत्ति पनि प्रगति गर्न सकेन। एकलाखदेखि ७३ लाखसम्मका गरी दुई करोड १८ लाख रुपैयाको योजना कामै नगरी आर्थिक वर्ष सकिएको हो।
गण्डकी गाउँपालिकामा पनि शून्य प्रगति भएका २२ वटा योजना छन्। पाँच करोड ४० लाख बराबरका ती योजनाको प्रगति शून्य भएको हो। धार्चे गाउँपालिकाको १५ वटा योजनामा पनि प्रगति शून्य छ। एकलाखदेखि १५ लाखसम्मका गरी ६६ लाखका योजना बिनाप्रगति वर्ष सकिएको हो।
चुमनुब्री गाउँपालिकाका २२ वटा कार्यक्रम पनि कत्ति पनि प्रगति नभई आर्थिक वर्ष समाप्त भएको छ। पाँच लाखदेखि एक करोडसम्मका गरी कूल तीन करोड ४५ लाखका योजनामा शून्य प्रगति भएको हो।
भीमसेन थापाको ३७ वटा योजनामा प्रगति शून्य छ। ५० हजारदेखि ९२ लाखसम्मका गरी कूल तीन करोड ५७ लाखका योजनाको प्रगति शून्य भएको हो।
सो आर्थिक वर्ष अजीरकोट गाउँपालिकाको २८ वटा योजनामा शून्य प्रतिशत प्रगति छ। पाँच लाखदेखि एक करोडसम्मका गरी चार करोड ३९ लाखका योजनामा शून्य प्रगति भएको हो।
आरुघाट गाउँपालिकाको २३ वटा योजनामा पनि कत्तिपनि प्रगति हुन सकेन। तीन लाखदेखि २९ लाखसम्मका गरी एक करोड ८८ लाख रुपैयाँका योजनाको काम कत्ति पनि नगरी आर्थिक वर्ष सकिएको हो।
सम्भाव्यता अध्ययन नगरी पारिएका योजनाहरू कार्यान्वयन हुन नसक्ने अजीरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थीको टिप्पणी छ। ‘विनासम्भाव्यता अध्ययन पारित भएका कार्यक्रम कार्यान्वयन हुँदैनन् त्यसैले प्रगति शून्य देखिएको हो’, अवस्थी भन्छन्, ‘कतिपय योजनाहरू प्राथमिकतामा नपरेर रकमान्तर भएका हुन्छन्।’
कतिपय योजना विवादका कारण पनि कार्यान्वयन हुन नसकेर प्रगति नदेखिएको हुनसक्ने उनको भनाइ छ।